तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्वारा पाम तेलको आयातमा रोक

काठमाडौँ । भारतले साफ्टा सुविधा अन्तर्गत नेपालबाट पामतेल आयात गर्ने भारतीय फार्महरुको लाइसेन्स खारेजी गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै नेपाल र बंगलादेशबाट पाम तेल पैठारी गर्ने कम्पनीहरुको लाइसेन्स खारेज गरेपछि नेपालबाट भारततर्फ हुने पाम तेलको निर्यातमा पनि समस्या आउन सक्ने देखिएको छ ।

परिपत्रमा नेपाल र बंगलादेशबाट पाम तेल भारत आयातका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको उल्लेख गरिएको छ ।

भारतले नेपालबाट हुने पाम तेलको कारोबारमा रोक लगाएसँगै नेपालबाट हुने निर्यात समेत प्रभावित हुने उद्योगीहरुले बताएका छन् ।

यसअघि भारतले गत पुस २२ गते पनि नेपालबाट त्यसतर्फ निकासी गरिने पाम तेलको निर्यातमा रोक लगाएको थियो । उक्त रोकावटपछि माघ २४ गतेदेखि डिजिएफटीले फेरि लाइसेन्स जारी गर्न थालेको थियो ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले भारतको निर्णयपछि नेपालको निर्यातमा पर्न सक्ने प्रभावको वारेमा मंगलवार छलफल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button