तपाईँ सुन्दै हुनुहुन्छः

वुहान शहरमा पाँच जना नयाँ संक्रमित फेला

काठमाडौं। पहिलोपटक कोरोनाभाइरसको उत्पत्ति भएको चीनको वुहान शहरमा पुनः संक्रमित फेला परेका छन् । अप्रिल ३ पछि वुहानमा पहिलो पटक सोमबार पाँचजना नयाँ संक्रमित फेला परेका छन् ।
चिनियाँ अधिकारीहरुले फेला परेका पाँचैजना नयाँ संक्रमित सुरुमा फेला परेको आवासीय क्षेत्रकै रहेको बताएका छन् । कोरोनाभाइरस संक्रमितको संख्या नगण्य हुँदै गएपछि चीनले पछिल्लो समय कडा प्रतिबन्धलाई खुकुलो बनाउँदै विद्यालय र यातायातका साधन सञ्चालनमा ल्याइसकेको छ । वुहान शहरमा अप्रिल ८ मा प्रतिबन्ध हटाइएको थियो । पाँचजना संक्रमितमध्ये एकजना पछिल्लो महिना संक्रमणको पुष्टि भएको ८९ वर्षीय वृद्धकी श्रीमति हुनुहुन्छ ।
बीबीसीका अनुसार संक्रमित पाँचैजनामा लक्षण देखिएको छैन् । उनीहरुमा खोकी वा ज्वरोको लक्षण छैन् । लक्षण नदेखिएपनि यस्ता बिरामीले संक्रमण सारेका हुन्छन् । चीनमा लक्षण नदेखिने संक्रमितलाई आधिकारिक तथ्याङ्कमा समावेश गर्ने नीति अन्र्तगत पर्दैन् । वुहानका स्वास्थ्य अधिकारीहरुले लक्षण नदेखिएका सयौं बिरामीलाई निगरानीमा राखेका छन् ।
यसैबीच रुस र उत्तर कोरियाको सीमासँग जोडिएको चीनको जिलिन प्रान्तको शुलान शहरमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले शनिबार समुदायबाट संक्रमित भएका ११ जना फेला परेको उल्लेख गरेको छ । चीनमा शुलान उच्च जोखिम रहेको एउटै शहर हो । शहरका प्रत्येक परिवारलाई घरभित्रै रहन निर्देशन दिइएको छ । आवश्यक उपभोग्य सामग्री खरिदका लागि परिवारका कुनै एक सदस्यलाई मात्रै बाहिर निस्किन निर्देशिका जारी गरिएको छ । सबै सार्वजनिक यातायात बन्द गरिएका छन् । टयाक्सीलाई शहर बाहिर जान अनुमति दिइएको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button