२०७८ साल असार १ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेची क्याम्पसमा तीन सय बेडको क्वारेन्टाइन

रेडियो नेपाल २०७७ वैशाख २९ गते १९:१०

झापा । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउन साथ राख्नका लागि झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने हुँदा उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको छ । उहाँले भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति प्राप्त हुन साथ त्यही ल्याएर राखिने बताउनुभयो ।

नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा १०० वटा बेड तयार भइसकेको उहाँले बताउनुभयो । “स्थानीय पालिकाहरुले बाहिरका मान्छे राख्न सक्दैनौँ भन्छन्”, उहाँले भन्नुभयो, “सङ्क्रमित छ या छैन जाँच नगरी टाढा पठाउन मिल्दैन । त्यही भएर छुट्टै राख्न क्वारेन्टाइन निर्माण गरिरहेका छौँ ।” तीन सय बेडको क्वारेन्टाइन तत्काल निर्माण गरिने र आवश्यक परे थप बेडको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो । यस अघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुलाई राखिएको छ ।

क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, म्याट्रेस, तन्ना, माक्सलगायतका दुई दुई सयका दरले सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ । सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले आजै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । झापाका १५ वटा पालिकामा स्कूल, सामुदायिक वन, स्वास्थ्य चौकीलगायतमा ७९२ जना अटाउने २७ वटा क्वारेन्टाइन छन् ।
रासस

सम्बन्धित