तपाईँ सुन्दै हुनुहुन्छः

जेठ ५ गते सम्म कपिलवस्तु शिल

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेसंगै कपिलवस्तु जिल्लालाई शिल गरिएको छ । जिल्लामा १५ जनामा कोरोना संक्रमणको पुष्टी भएसंगै जिल्ला सुरक्षा समितिको वैठकले कपिलवस्तुलाई जेठ ५ गते सम्मका लागि शिल गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु पत्रकार सम्मेलन गरी वैशाख २९ गते ५ बजेदेखि लागु हुने गरी जेठ ५ गते राती १२ बजेसम्मका लागि शिल गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

कपिलवस्तुमा सोमबार मात्रै १० जनामा र यसअघि ५ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै स्थानीय प्रशासनले कोरोना संक्रमणको सम्भाव्यतालाई रोकथाम गर्न जिल्लालाई शिल गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्णय अनुसार अति आवश्यकीय वस्तुुहरु ढुवानी (खाद्यान्न, तरकारी, फलफुल, दुध, पेटोलियम पदार्थ, ग्यास, औषधी, पानी, पशुपन्छीको दाना) एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुडने सवारी साधनहरु (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी) बाहेक यस जिल्ला भित्र गुड्ने सवै प्रकारका सवारी साधन, मानिसहरुको आवतजावत र सम्पूर्ण किसिमका गतिविधी (उद्योगधन्दा कलकारखाना, निर्माण संग सम्वन्धित कार्यहरु, व्यापार व्यवसाय) लाई रोक लगाइएको छ ।

सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोक ऐन २०२० को दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाएको जनाएको छ । साथै खाद्यान्न तथा तरकारीका लागि विहान ७ बजेदेखि ९ बजे सम्मको समय कायम गरिएको छ ।

आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् । कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालयमा रहेका ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकाको १ जना कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्ममा २१ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । सिमानामा आएका व्यक्तिहरु ३।४ दिनदेखि नेपाल भारत दशगजामा अलपत्र अवस्थामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button