तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेश फर्काइदिन प्रवासमा रहेका नेपालीहरुको आग्रह

कञ्चनपुर । रोजगारी तथा अध्ययनको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका नेपाली नगरिकहरुले आफुहरुलाई स्वदेश फर्काइदिन सरकार र सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित देशहरुमा रहेका नेपालीहरुलाई रोग, भोक र शोकको डरले त्रसित बनाएकोले उनीहरुको अवस्था दयनीय बन्दै गएको छ ।

अहिले स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि र पत्रकारहरुसंग उद्धारको पहलका लागि प्रवासमा रहनु भएका नेपालीहरुले निरन्तर संवादको क्रमलाई जारी राखेका छन् ।

विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिकहरु कोरोना भाइरसको संक्रमणको त्रासले घर फर्किने क्रममा नेपाली सीमा नजिक समेत पुगेका थिए । तर करीब एक महिना भन्दा लामो समययता उनीहरुलाई भारतीय क्वारेन्टाइनमा राखिएको थियो । कञ्चनपुरसंग जोडिएका भारतीय सीमा क्षेत्र बनबासा, टनकपुर, पलिया लगायतका क्षेत्रका क्वारेन्टाइनमा रहेका ३ सय भन्दा बढी नेपाली नागरिकहरुले पनि यथाशीघ्र उद्धारका लागि सरोवालाहरुसंग अनुनय विनय गरिरहेका छन् ।

रुद्रपुर र काशीपुरका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई घर जाऊ भनी क्वारेन्टाइनबाट निष्काशन गरेपछि उनीहरु अहिले भारतकै खटिमामा अलपत्र परेका छन् ।

अलपत्र नेपालीहरुलाई अहिलेको अवस्थामा नेपाल भित्र्याउन नसकिने बताउनु हुँदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतीय अधिकारीहरु र दुतावाससंग समन्वय गरेर त्यहीँ व्यवस्थापनको क्रम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले गृहमन्त्रालयबाट निर्देशन आएपछि भने अलपत्र नेपालीहरुको उद्धार गर्न सकिने बताउँदै आउनु भएको छ । भारत तथा तेस्रो मुलुकमा रहेका अलपत्र नेपाली नागरिकहरुलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाउनु पर्ने र चेकजाँचलाई तीब्रता दिनुपर्ने तथा प्रदेश सरकार र स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने लगायतका व्यवस्थापकीय तयारी गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button