तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठकमा : पूर्व बजेट माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहेको छ ।

छलफलमा भाग लिँदै संसदहरुले कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यान दिएर बजेट आउनु पर्नेमा जोड दिनुभयो ।

छलफलमा सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्दन शर्माले कोरोनाबाट विश्व नै आक्रान्त भई श्रमिक र अर्थतन्त्र संकट ग्रस्त भएको अवस्थामा नेपालमा पनि संकटले ल्याउन सक्ने सम्पूर्ण प्रभावको अध्ययन गरेर मात्रै बजेट ल्याइनु पर्ने बताउनुभयो ।

सांसद शर्माले बजेटको सिद्धान्त र प्राथमिकता परम्परागत ढंगबाट आएको भन्दै किसान, मजदुर, श्रमिक र न्युन आय भएका नागरिकहरु प्रत्यक्ष संलग्न हुने कुरामा बजेटले बिशेष ध्यान दिनु पर्ने र राष्ट्र आत्मनिर्भर बनाउने गरी बजेट आउनु पर्नेका जोड दिनुभयो ।

सत्तापक्ष दलका अन्य सांसदरुले यसअघि शुरु भएर काम सम्पन्न नभएका आयोजना सम्पन्न गर्ने, कृषि विकास, रोजगारीको सिर्जना, र कोरोना पछिको अहिलेको अवस्थामा सबै क्षेत्रमा सूचना प्रविधिको पहूँच विकास र स्वास्थ्य र शिक्षामा विशेष जो्ड दिनु पर्ने बताउनुभयो ।

सांसदहरुले कोरोना संक्रमणपछि नागरिकको जनजिवन संकटमा परेको भन्दै उनीहरुको जिवनस्तर माथि उठाउने गरी नयाँ योजना ल्याउनु पर्नेमा जोड दिदै पुरानै शैलीको बजेट आउनु नहुने बताउनुभयो ।

छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले अहिलेको संकटको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न राष्ट्रिय अठोट आवश्यक रहेको बताउनुभयो ।

सांसद रिजालले अहिलेको अवस्थामा सिमित बजेट ल्याएर साउनपछि सम्पूर्ण अवस्थाको मुल्याङ्कन गरी पूर्ण बजेट ल्याइनु पर्ने बताउनुभयो ।

प्रतिपक्षी दलका अन्य सांसदहरुले भन्सार राजस्व घटेको, बैदेशिक रोजगारी अनिश्चित बनेको र पर्यटन, व्यापार, व्यवसाय लगायत सम्पूर्ण क्षेत्र प्रभावित भएको अवस्थामा कृषि क्षेत्रलाई विशेष अवसरका रुपमा लिएर अगाडी बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।
उहाँहरुले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका संसाद एकवाल मिंयाले संघीयतामा देश गइसकेको अवस्थामा दुई नम्बर प्रदेश र कर्णाली प्रदेश आर्थिक रुपमा सबैभन्दा पछाडी परेकाले यी दुईवटा प्रदेशलाई प्राथमिकतामा राखेर बजेट आउनु पर्ने बताउनुभयो ।

यस्तै संघीय समाजवादी फोरम, नेपालका सासंद सरिता गिरीले ग्रामिण विकास, कृषि र उत्पादकत्व विकास, सहुलियत कृषि ऋण, रोजगारीको सृजना गर्ने कुरामा बजेटले ध्यान दिनु पर्नेमा सांसदहरुले जोड दिनुभयो ।

बैठकमा पूर्व बजेट माथिको छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button