तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमणमुक्त भई घर फर्केकालाई विभेद नगर्न आग्रह

सरकारले कोरोना भाईरसको उपचार पछि संक्रमण मुक्त भई घर फर्केकालाई कुनैपनि विभेद नगर्न आग्रह गरेको छ ।

कोरोना प्रकोपको पछिल्लो अवस्थाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सक्रमण मुक्त भई घर फर्किएका व्यक्तिहरू प्रति समाज र परिवारका सदस्यहरूले विभिन्न आशंका र विभेद गर्ने गरेको गुनासो प्रति मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो ।

उहाँले संक्रमितलाई सक्रमण मुक्त भएको प्रमाणित भएपछि मात्रै घर पठाईएको र उनिहरूले रोग सार्न सक्ने कुनै सम्भावना नभएको हुनाले सामान्य व्यक्ति सरह व्यवहार गर्न आग्रह गर्नुभयो ।

प्रवक्ता देवकोटाले कोरोना संक्रमणको आशंकामा क्वारेन्टाईनमा रहेका बालबालिकालाई बालमैत्री वातावरण निर्माण गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका अनुसार हाल सम्म नेपालमा जम्मा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको र उनिहरू मध्ये ३१ जना निको भई घर फर्किएका छन् ।

बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button