तपाईँ सुन्दै हुनुहुन्छः

यातायात मजदुरद्वारा राहत माग

सर्लाही । जिल्लाका यातायात मजदुरले सरकारसँग राहतको व्यवस्था गर्न माग गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा खान बस्नको समस्या सिर्जना भएको भन्दै ती क्षेत्रका मजदुरले सरकारसँग राहतको माग गरेका हुन् ।

सवारी साधन लिएर विभिन्न ठाउँमा पुगेका चालक र सहचालक लकडाउनका कारण जहाँको त्यही रोकिनुपर्दा अलपत्रमा परेको बस व्यवसायी सङ्घका अध्यक्ष शिवशङ्कर यादवले जानकारी दिनुभयोे । लकडाउनको अवधि बढ्दै जाँदा उनीहरूको अवस्था नाजुक बन्दै गएको भन्दै सरकारले राहतको व्यवस्था गरिदिए सहज हुने उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाम मलङ्गवाबाहेक कौडेना, गोडैता, बलरा, बरहथवा, बयलबास, हरिपूर्वा, सङ्ग्रामपुर, पर्सालगायतका ग्रामीण क्षेत्रका बसपार्क क्षेत्रमा पुगेका यातायात मजदुर वढी समस्यामा परेका सङ्घले जनाएको छ । मलङ्गवाबाट दैनिक ६५ वटा बस देशका विभिन्न शहर तथा गाउँका लागि छुट्ने गरेका थिए ।

अहिलेको कोरोना सङ्कटबाट साहुको बस, ट्रक, अटो चलाउने चालक तथा सहचालक बेरोजगार बनेका छन् । दैनिक ज्यालादारी काम गर्ने बढी मर्कामा परेका छन् । यातायात मजदुरका साथै उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउन सङ्घका अध्यक्ष यादवले माग गर्नुभयो ।

उहाँका अनुसार बैंकबाट ऋण लिएर निकालेको सवारी साधनको किस्ता तिर्न नसकेर व्यवसायी समस्यामा परेका छन् । सङ्घका अनुसार ९० प्रतिशत व्यवसायीले बैंकबाट कर्जा लिएर किस्तामा गाडी निकालेका छन् ।

एउटा गाडीमा ८० प्रतिशतसम्म बैंक तथा सहकारीको लगानी हुन्छ । काम गर्न नपाएपछि छाक टार्न समस्या भइरहेको समयमा बैंकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button