तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभाव : झापाली उद्योगी–व्यवसायीले बुझाए सरकारलाई ज्ञापन

भद्रपुर, झापा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्रले ठूलो संकट व्यहोर्नु परेको भन्दै झापाका उद्योगी–व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।

झापाका सबै उद्योग वाणिज्य संघहरुले संयुक्तरुपमा उद्योगी–व्यवसायीका समस्या बारे ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्रमा बंैकबाट लिएको ऋणको व्याजका सन्दर्भमा नाफा र नोक्सानरहित ढंगले विज्ञहरु राखेर उचित व्यवस्थापन गरी व्याज छुट गर्न, बैंकले लिने सेवाशुल्क, नवीकरण शुल्क छुटका साथै स्प्रेड दर दुई प्रतिशत कायम गर्न, बैंक तथा वित्तीय संस्थालाई सेवामुखी बन्न र बनाउन, उद्योगी व्यवसायीको क्षतिको अवस्था मूल्यांकन गरी विशेष राहत प्याकेज घोषणा गर्न माग गरिएको छ ।

प्रजिअ उदयबहादुर राना र जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेललाई छुट्टाछुट्टै रुपमा ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले सरकारले उद्योग व्यवसाय क्षेत्रको मागप्रति गम्भीर भएर समाधान नदिए सबै उद्योग–व्यवसायका तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।

जिल्लाका स्थानीय तहहरुसमेतलाई पठाइएको ज्ञापनपत्रमा लकडाउन अवधिभरको घरभाडा छुट, विद्युतमा डिमाण्ड शुल्क र अतिरिक्तम शुल्क छुट, मजदूर कर्मचारीको तलबभत्तामा सहजीकरण गर्न पनि आग्रह गरिएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button