तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लकडाउन थप खुकुलो, उद्योग–व्यापार खुल्ने समय बढाइयो

भद्रपुर, झापा । झापामा लकडाउन आजदेखि थप खुकुलो बनाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको अगुवाइमा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको सर्वपक्षीय बैठकले लकडाउन थप खुकुलो पार्ने निर्णय गरेको हो ।

सरकारले तोकेको कोरोना भाइरस सम्बन्धी न्यूनतम मापदण्ड पूरा गर्दै जिल्लाका पसलहरु खुल्ने समय ३ घण्टाबाट चार घण्टा पुर्याइएको छ । सो समयभित्र इँटा बिक्री केन्द्रदेखि हार्डवेयर पसलसम्म खोल्ने निर्णय गरिएको छ ।

यो निर्णयसँगै जिल्लामा आज विहानदेखि मानिस र सवारीसाधनको चहलपहल केही बढेको पाइएको छ ।

सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू सरकारले तोकेको मापदण्ड पूरा गरी विहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने निर्णय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

यसअघिको सर्वपक्षीय बैठकले जिल्लाका खाद्यान्न र सागसब्जीका पसल मात्र बिहान ८ देखि ११ बजेसम्म खोल्ने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले घर बहाल कर, व्यवसायी कर तथा शुल्कहरू छुटका लागि स्थानीय उद्योग वाणिज्य सङ्घहरूसँग समन्वय गरी आवश्यक निर्णय गर्न गाउँपालिका र नगरपालिकाहरूलाई अनुरोध गर्ने, गाउँपालिका तथा नगरपालिकाबाट हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गर्ने साथै राहत सामाग्री तोकिएको मापदण्ड र गुणस्तरको हुनुपर्ने निर्णय गरेको छ ।

लकडाउनमै सरकारले शुक्रवारदेखि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा बैठक बसेर यस्तो निर्णय गरिएको पार्तेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका उद्योग तथा व्यवसायहरू सुचारुका लागि न्यनुतम मापदण्डसहित सञ्चालनको अनुमति पालिकाहरूले दिने निर्णय गरिएको छ ।

काम गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था मिलाउनुपर्ने, कर्मचारी–मजदूरलाई परिचय–पत्र दिएको हुनुपर्ने, ढुवानीका साधनका चालक र सह–चालकको परिचयपत्र हुनुपर्ने निर्णय गरिएको छ ।

समिति संयोजक पोर्तेलकै अध्यक्षतामा बसेको बैठकमा सांसद, जनप्रतिनिधि, जिल्लाका सबै राजनीतिक दल, प्रहरी, प्रशासन प्रमुख, उद्योगी–व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button