तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ :  प्रवक्ता श्रेष्ठ

फाइल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफँैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमाक्षेत्रमा सडक बनाएकामा आपत्ति प्रकट गर्दै सो माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा आज ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, “नेपाली भूमिमा सडक बनाई शुक्रबार उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गर्दछु ।” उहाँले हामी सबै कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्रबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि सरकारले केहीअघि आपत्ति जनाएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button