२०७८ साल असार १० गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको लडाइमा एकताबद्ध हुने नेताहरूको प्रतिबद्धता

तुलसी सापकोटा/ समिरजंग शाह २०७७ वैशाख २६ गते १८:१३

काठमाडौँ । प्रतिनिधिसभाको बर्षे अधिवेशनको प्रारम्भको अवसरमा आज विभिन्न राजनीति दलका नेताहरुले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि सबैले एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीबाट जोगिनको लागि अहिलेसम्म गरिएका कार्यको समिक्षा गरी विशेष राणनीतिक योजनाबाट नियन्त्रण गर्न सफल हुनु पर्ने बताउनुभयो ।

सभापति देउवाले प्रमुख प्रतिपक्षी दलले कोरोना विरुद्धमा जिम्मेवारीपुर्वक काम गरेर सरकारकारलाई सघाइरहेको बताउदै अप्ठ्यारो परिस्थितिमा हुन सक्ने भ्रष्टाचार र अनियमितताका विरुद्धमा भने निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

उहाँले बास्तविक पीडितले अझै राहत पाउन नसकेको बताउँदै श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी, पत्रकार, उद्योगी व्यवसायीलाई विशेष राहत प्याकेज प्रदान गर्न आग्रह समेत गर्नुभयो ।

देशमा कोरोना देखिएको लामो समय बितिसक्दा पनि अत्याधिक परिक्षण गर्न नसकेको बताउँदै परीक्षणको प्रभावकारी व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले विदेशमा अप्ठेरामा परेको नेपालीको उद्धार गर्नु सरकारको् कर्तव्य भएकाले आवश्यक क्यारेन्टाइनमा राख्ने व्यवस्था गरी तत्काल गर्न उद्धार गर्न आग्रह समेत गर्नुभयो ।

सभापति देउवाले महामारीका बेला सरकारले विपक्षी दलका नेताको भूमिका मुक्त गर्ने गरी अध्यादेश ल्याउनु, सांसदको अपहरण हुनु जस्ता घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले प्रभावकारी कार्य गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलका उपनेता सुभावचन्द्र नेम्वाङले देशले कोरोना चुनौतीलाई सामना गरिरहेको अवस्थामा कोरोना विरुद्धको लडाईमा सिंगो देश एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

उपनेता नेम्वाङले बन्दाबन्दी आवश्यकता र बाध्यता हो भन्दै यसको विकल्प नरहेको र सरकारले सरकारले प्रभावकारी कदम चाले कै कारण देशमा कोरोनाको संक्रमणले भयावह रुप लिन नपाएको बताउनुभयो ।

उहाँले कोरोनाविरुद्धको लडाईमा संसद बैठकले आधार तय गर्ने अपेक्षा व्यक्त गर्दै प्रि बजेट छलफल नीति कार्यक्रम, बजेट कानुन निर्माण लगायत विषयमा छलफल हुने भएपनि अहिले प्राथमिकता कोरोना नै भएको बताउनुभयो ।

उपनेता नेम्वाङ्ले प्रतिपक्षी दलका नेताले भने जस्तो समाजवादी पार्टीका सांसद अपहरणको घटनाको यथार्थ हो भने त्यस विषयमा संसदले थाहा पाउनु पर्ने बताउनुभयो ।

राजपा नेपालका नेता राजेन्द्र महतोले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र नेपाली जनताको जीवन रक्षाको माग गर्नुभयो ।

उहाँले सरकारले कोरोनाको परीक्षण प्रभावकारी रुपमा हुन नसकेको भन्दै परीक्षण व्यापक बनाउन माग गर्नुभयो ।

उहाँले सरकारले किसानलाई कृषि काम गर्न अवरोध गर्नु हुदैन, श्रमिक बेरोजगारलाई राहत दिने र जनता जोगाउने तिर नै अबको बजेट समेत केन्द्रित हुनु पर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं सांसद डा.बाबुराम भट्टराईले कोरोना संक्रमित थोरै भेटिएको भनेर सरकार ढुक्क भएर बस्न नुहुने भन्दै नगन्य रुपमा भइरहेको परीक्षणको दायरा बढाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले बन्दाबन्दी, नाकाबन्द गरेको बिषय बाहेक कोरोना विरुद्धको अन्य कार्य सन्तोषजनक हुन नसकेको भन्दै विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई विशेष व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।
नेता डा.भट्टराईले विश्वमा अबको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा मन्दी आउन लागेको आकलन भइरहेको भन्दै नेपालको अर्थतन्त्रमा दुई देखि पाँच खर्वको नेक्सान हुने अनुमान गरिएकाले रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याउनु पर्नेमा समेत जोड दिनुभयो ।

उहाँले कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले उत्पादन, संकलन र वितरणको प्रभावकारी प्रबन्ध गर्नु पर्ने, ६४ लाख भन्दा बढी विद्यार्थी बन्दाबन्दीमा रहेकाले उनीहरुको बारेमा विशेष व्यवस्था गर्नु पर्ने बताउनुभयो ।

उहाँले महामारीकोबीचमा पार्टी फुटाउने गरी सरकारले विधेयक ल्याउनु, सांसदको अपहरण गर्ने जस्ता विधिको शासन विरुद्धको कार्य भएकाले यसले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतमा रहेका बेखर्ची नेपालीलाई नेपाल ल्याएर उपाचार र व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विश्वका कुनै पनि देशमा अलपत्र परेका नेपालीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्ने उपचार गर्ने र श्रमसँग जोड्ने तर्फ अब सरकारले काम गर्नु पर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य उपकरण र राहत सामग्रीमा भ्रष्टाचार भइरहेको भन्दै त्यस्ता भ्रष्टाचारीलाई कडाभन्दा कडा कारवाही हुनु पर्ने र कोरोना विरुद्धको लडाइमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राहत वितरणमा विभेद भएको, एकद्वार प्रणाली लागु हुन नसकेको स्वस्थ्य कर्मीलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक बैशाख २८ गते आइतबार विहान ११ः००बजे बस्ने छ ।

सम्बन्धित