तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाकामा सवारी साधनको निर्मलीकरण गर्ने कार्य शुरु

मेलम्ची । कोरोना भाईरस (कोभिड– १९) को सम्भावित संक्रमणलाई न्युनिकरण गर्न नेपाल रेडक्रस सोसाइटीले नेपालको उत्तरी नाका तातोपानी हुँदै नेपालमा आवत जावत गर्ने सवारी साधनहरुलाई निर्मलीलकरण गर्ने कार्य शुरु गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही समययता खुलेपछि स्थानीयहरु कोरोना भाइरसको त्रासमा रहेको अवस्थामा जिल्ला संकट व्यस्थापन समिति सिन्धुपाल्चोकको निर्णय र स्थानीय निकायसंगको समन्वयमा रेडक्रसले यो कार्यक्रमको शुरुवात गरेको हो ।

भोटेकोशी गाउँपालिका– २ का वडा अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले सवारी साधनको निर्मलीकरणको शुरुवात गर्दै रेडक्रसका गतिविधिमा स्थानीय निकाय सधै समन्वय गर्न तयार भएको र मानव रक्षाका लागि रेडक्रसले सबै निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने बताउनुभयो ।

नाकामा आवतजावत हुने सवारी साधनको निर्मलीकरण लगायत संक्रमणको रोकथामका गतिविधि सञ्चालन गर्ने सम्बन्धि हिजोे तातोपानीमा भएको बैठकमा अन्तराष्ट्रिय नाका अहिलेको परिस्थितिमा संवेदनशील रहेको अवस्था रेडक्रसले सञ्चालन गरेको गतिविधि महत्वपूर्ण रहेको र स्थानीय निकायले संक्रमण सुरक्षा नीतिलाई व्यवहारमा कार्यान्वय गर्न समन्वयकारी भूमिका निर्वाह गरिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

कोरोना भाईरसको प्रकृति अनुसार सवारी साधन मार्फत समुदायसम्म संक्रमण फैलन नदिनका लागि सबै निकाय सजग हुनपर्ने हुँदा सवारी साधन तथा चालक र सहचालकले अपनाउन पर्ने सुरक्षा नीति पूर्ण पालना गर्न गराउन उक्त बैठकले सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

सुरक्षा नीति पूर्ण पालना गर्न गराउन भोटेकोशी गाउँपालिका– २ का वडा अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्थानीय क्लव र समाजसेवीहरु रहेको समन्वय समिति निर्माण गरिएको छ ।

तातोपानी स्वास्थ्य चौकीका लागि न्यानो झोला हस्तान्तरण गर्दै कोभिड १९ विपदमा नेपाल रेडक्रसले सम्पादन गरी आएको गतिविधिको जानकारी गराउँदै मानव रक्षाका लागि समुदायमा सञ्चालन गरिने हरेक गतिविधिमा नेपाल सरकारसंगको समन्वयमा नेपाल रेडक्रसले सहयोगी भूमिका निर्वाह गर्दै आएको जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले बताउनुभयो ।

सोसाइटीको मन्त्री कमलचरण कक्षपतिले सहजिकरण गरिएको छलफलमा पालिका प्रमखु लगायत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय क्लव तथा रेडक्रस स्वयमसेवीहरुको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button