तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप १७ जनामा कोरोना पुष्टि

वीरगञ्ज । नेपालमा पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज वीरगञ्जमा दुई महिना देखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये सात महिला र १० पुरुष छन् । यो सँगै देशभर संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।

वीरगञ्जमा अहिले ९ जना नारायणी अस्पतालको आईसोलेशनमा उपचार भई रहेको र थप १७ जना भेटिएपछि अहिले वीरगञ्जको जनजीवन त्रसित बनेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा गत बैशाख २१ गते कोरोना संक्रमित देखिएका ३६ वर्षीय पुरुषको सम्पर्कमा आएका व्यक्तिहरुमा गरिएको पिसिआर परिक्षणबाट २ महिने बालिका सहित १७ जनामा देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

संक्रमितहरु मध्ये अधिकांश एकै परिवारका र छिमेकी रहेको छन । संक्रमितहरुलाई नारायणी अस्पतालको आईसोलेशनमा ल्याई उपचार प्रारम्भ गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयामा थप संक्रमित पुष्टि भए सँगै सो एरियालाई पुनः शिल गरिएको छ ।

एकै साथ एउटै परिवार र २ महिने शिशु सहित १७ जना सक्रमित भएको यो नेपालकै पहिलो घटना भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनु भयो ।

नयाँ संक्रमित सँगै नारायणी अस्पतालमा मात्रै कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button