तपाईँ सुन्दै हुनुहुन्छः

सिड्नी उड्यो नेपाल एयरलाइन्स

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ ।

काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ । निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो ।

निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ ।

यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button