तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज पथलैया कोरिडोरका फलामे डन्डी उद्योग सञ्चालनको तयारीमा

फाइल तस्बिर

वीरगन्ज । लकडाउनका कारण बन्द रहेका वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका फलामे डन्डी उद्योगहरू सञ्चालनको तयारीमा रहेका छन् ।

वीरगंज पथलैया औद्योगिक करिडोरको सिमरामा रहेको शंकर समूहको जगदम्बा स्टिलले आजदेखि ड्राइपोर्टमा होल्ड भएको फलामजन्य कच्चा पदार्थ लोड गरी उद्योगमा लैजाने काम शुरू गरेको छ ।

ड्राइपोर्ट सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले आजदेखि फलाम भण्डारण क्षेत्रबाट जगदम्बा स्टिलको फलाम लोड भइरहेको बताउदै जगदम्बा स्टिलले आज ६ वटा गाडीमा डण्डी उत्पादन गर्ने फलामको कच्चा पदार्थ लगेको जानकारी दिनुभयो ।

लकडाउनको कारण अहिले वीरगंजस्थित सुख्खाबन्दरगाहमा ५० हजार टनभन्दा बढी फलामको विलेट, स्पन्ज, क्वायल लगायतका औद्योगिक कच्चा पदार्थ थुप्रिएको छ ।

यता जगदम्बा स्टिलका कार्यकारी निर्देशक अनुराग शर्माले उद्योग आजसम्म बन्द रहेको र सरकारको आगामी रणनीतिलाई मध्यनजर गर्दै कच्चा पदार्थ भण्डारण गर्न लागेको बताउनुभयो ।

यसैबीच सुक्खा बन्दरगाहबाट फलामजन्य कच्चा पदार्थ ढुवानीको लागि पर्सा प्रहरीले राति ८ बजेदेखि बिहान ६ बजेको समयलाई उपयोग गर्न सकिने बताएको छ ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले उद्योगी व्यवसायीहरूलाई रातिको समयमा ड्राइपोर्टमा थुप्रिएको मालसामानहरू खासगरी फलामजन्य कच्चा पदार्थहरू उद्योगमा लगेर भण्डारण गर्न आपूmहरू रोकटोक नगर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button