तपाईँ सुन्दै हुनुहुन्छः

कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त स्वास्थ्य कर्मी परिचालन

नेपालगन्ज । नेपालगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

उनीहरूले संक्रमित व्यक्तिको सम्पर्क र भेटघाट भएका व्यक्तिहरुको पहिचानका लागि सहयोग गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का चिकित्सकहरू डा.मुना प्रधान, डा.राजन पटेल र डा.पवन उपाध्यायको टोली पनि नेपालगन्ज पुगेको छ ।

उनीहरूले कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने सहज उपाय र संक्रमण नियन्त्रणका लागि छलफल समेत गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । डब्लूएचओका चिकित्सकले कोरोनाको संक्रमण देखिएका टोलका बढीभन्दा बढी व्यक्तिको स्वाब जाँच गर्न सके नियन्त्रणमा सहयोग पुग्ने सुझाव दिएको श्रेष्ठले बताउनुभयो ।

पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा आएका ९४ जनालाई पहिचान गरी स्वाब संकलन गरेर परिक्षण गरिएकोमा एकै टोलका २२ जना संक्रमित थपिएका थिए ।

ती २२ जना संक्रमितको ट्रेसिङ गरेर थप स्वाब संकलन थालिएको छ । संक्रमितहरु बस्ने टोल वरपर उनीहरुको आवतजावत भएका पाँच स्थानबाट स्वाब संकलन गर्न सुरु गरिएको छ ।

अहिलेसम्म ५६ जनाको स्वाब संकलन भएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button