तपाईँ सुन्दै हुनुहुन्छः

६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज

मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना भाइरस (कोभिड -१९) देखिएपछि उनिहरूलाई ५ वैशाखमा कोशी अस्पतालमा भर्ना गरि उपचार गरिएको हो । एकैसाथ भर्ना गरिएका १२ मध्ये ६ जनाको भने उपचार भैरहेको छ ।

अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार विहान उनिहरूलाई विदाइ गरे । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद राशिद रहेका छन् ।

अस्पतालमा भर्ना भएको १४ दिनपछि गरिएको दोस्रो र तेस्रो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यवहाक मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले बताउनु भयो । डिस्चार्ज हुने सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने छ । १० वटा वेडरुम र १० वटा शौचालय भएको सो मस्जिदमा उनीहरुलाई राखिने भएको हो ।

पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएकोले उनीहरु कोरोनामुक्त देखिएको थियो । अन्य संक्रमितको पनि स्वाब परीक्षण भइहरेको छ । दोस्रो र तेस्रो परीक्षणमा नेगेटिभ देखिएकालाई डिस्चार्ज गरिने र पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने बताइएको छ ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत छन् । तीमध्ये १२ जना भारतीय हुन् । उपचारमा रहेका अन्य २ जना झापाका र १ जना भोजपुरका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ६ जना डिस्चार्ज भएसँगै कोशी अस्पतालको कोरोना अस्पतालमा अब २५ जना उपचाररत रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button