तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउनको प्रभाव : रतुवा र घोरल वस्तितिर

दोलखा । त्यस्तै एक हप्ताको भयो होला रतुवा मृगको बच्चा, सिंगटी स्थित गौरीशङ्कर संरक्षण क्षेत्रको बगैचामा रमाईलो मानेर यता उता गर्ने भएको छ । अनि संरक्षण क्षेत्रबाट नजिकै देखिने तामाकोसी नदी पारीपट्टी चट्टानी भीरमा घोरलको लुकामारी पनि गजबकै छ ।
कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउनको घोषणा गरेपछि मानिसको चहलपहल र सवारी साधनको घार घुर कम भएको छ । तर जङ्गली जनावरहरुको गतिविधि भने बढेको छ । लक डाउनले सबैतिर शान्ति छाएपछि जङ्गली जनावरहरु निर्धक्क बस्तितिर आउन लागेको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनु हुन्छ ।

गत बैशाख १८ गते दोलखा विगु गाँउपालिका वडा नम्बर १ जगतमा स्थानियले रतुवा मृगको बच्चा फेला पारेर संरक्षण क्षेत्रमा बुझाई दिएका थिए । त्यहि रतुवा मृगको बच्चा अहिले संरक्षण क्षेत्रको हातामा रहेको बगैचामा मानिसहरुसंग रत्तीएर यताउती गर्ने भएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रमा ल्याउदा रतुवा मृग १/२ दिनको मात्र भएकोले राम्रोसंग थेगिन नसक्ने अवस्थामा रहेको थियो तर अहिले यताउती रमाउदै हिड्ने भएको छ – संरक्षण क्षेत्रका याङ्जी शेर्पा बताउनु हुन्छ ।

लक डाउनले सबैतिर शान्ति भएपछि संरक्षित बन्यजन्तुमा पर्ने रतुवा मृगको बच्चा आमासंग बस्तितिर आएको र बस्तितिरै अलमलिदा आमासंग छुट्टीएको हुनसक्ने संरक्षण क्षेत्रका प्रमुख शाह बताउनु हुन्छ ।

लक डाउनकै अवधिमा विगु गाँउपालिका वडा नम्बर ४ मा रहेको सिंगटी बजारमा घोरल देखापरेको थियो । बजार छिरेको घोरल अलममा परेपछि स्थानियले उद्दार गरी संरक्षण क्षेत्रलाई बुझाएका थिए । उक्त घोरललाई स्थानियकै सहयोगमा उसको प्राकृतिक वासस्थानमै छोडिदिएको संरक्षण प्रमुख शाहले बताउनु भयो ।

रतुवा मृगको बच्चालाई पनि अलि ठूलो र सहजै हिड्डुल गर्न सक्ने भएपछि उसको प्राकृतिक वासस्थानमै लगेर छोडिदिने संरक्षण प्रमुख शाह बताउनु हुन्छ । लक डाउनले वन्यजन्तुहरुलाई अन्य खासै समस्या नभएपनि शान्त वातावरणका कारण उनीहरु वस्तितिर आउनेक्रम बढेकोले सुरक्षा चुनौती भने थपिएको शाहको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button