तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय क्षेत्र हेलम्बुमा जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल बन्दै

मेलम्ची । पर्यटकीय क्षेत्र हेलम्बुमा ३ सय ७० मिटर लम्बाइको झोलुंगे पुल बन्ने भएको छ । पुल निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी निर्माण प्रक्रिया अघि बढाएको छ ।

मेलम्ची खोलामाथी हजार फिट अर्थात करिव १ सय ८० मिटर उचाइमा बन्ने उक्त पुल मान्छेको आउजाउ मात्र होइन पर्यटका लागि पनि आकर्षित हुने स्थानीयको भनाई छ ।

मेलम्ची खानेपानीको मुहानभन्दा माथि सर्कथली भन्ने स्थानबाट तल्लो भागमा पर्ने उक्त पुल निर्माणका लागि करिव ३ करोड ५० लाख खर्च हुने अनुमान छ ।

हेलम्बु गाउँपालिकाका सब इन्जिनियर शेर बहादुर राईका अनुसार पुलको डिपिआर गाउँपालिका र पुलका अनुभवी डाक्टर नरेन्द्रलाल जोशीले तयार पार्नु भएको हो ।

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार उक्त पुल नेपालकै लामो र उच्च स्थानमा रहेको पुलहरु मध्येको एक हो ।

यति लामो पुलको स्टमेन्ट गर्न प्राविधिकले आनकानी गरेपछि विशेषज्ञको सहयोग लिएको उहाँले जानकारी दिनुभयो । ‘स्थानीय तहले बनाउन धेरै लागत लाग्ने भएपछि प्रदेश सरकारलाई अनुरोध गरेको शेर्पाले बताउनुभयो ।

पर्यटकका लागि हेलम्बु राजधानीबाट सबैभन्दा नजिक र पुरानो टे«किङ रुट हो । मेलम्ची मुहान नजिकै बन्ने भएकाले आन्तरिक पर्यटक पनि उक्त पुल हेर्न जान सक्ने छन् । पुल निमार्णपछि सिन्धुपाल्चोक जिल्लाकोे सबैभन्दा उचाइ र सबैभन्दा लामो हुने शेर्पाले जानकारी दिनुभयो ।

यातायताको सुविधा भएपछि पछिल्लो समय घुम्नका लागि हेलम्बु जानेहरु बढ्दै गएका छन् । मेलम्ची मुहान हेर्न पनि आन्तरिक पर्यटक धेरै आउने गरेका छन् । उक्त पुलबाट हेलम्बुको पर्यटकीय केन्द्रहरु तार्केघ्याङ उत्तर र मेलम्चीघ्याङ दक्षिणपूर्वमा पर्दछ । पुल निमार्णपछि बन्जि हान्नका लागि समेत उपयुक्त हुने शेर्पाले जानकारी दिनुभयो ।

सो पुल निमार्णपछि हेलम्बुका पर्यटकीयस्थल मिलेरेप्पा, नाकोते, घ्वागाङ, रिबाल्मा लगाएत बस्तिमा पुग्न सजिलो हुने गाउँपालिकाले जनाएको छ ।

कोरोना भाइरसले गर्दा देश लकडाउनमा भएकाले विकास निमार्णको काममा बाधा पुगेका छ ।

त्यसैले हेलम्बुमा बन्न लागेको पुल पनि जनशक्ति र सामान अभावले गर्दा ढिला हुने जिल्ला डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुलको काम असोज सम्ममा सक्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button