तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मती प्रदेशको प्रदेशसभा बोलाउने तयारी

हेटौंडा । वाग्मती प्रदेशको प्रदेशसभा सञ्चालन गर्ने तयारी भएको छ । सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभा भवनको निरीक्षणसमेत गर्नुभएको छ ।

पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।

निरीक्षणपछि मुख्यमन्त्री पौडेलले बजेट ल्याउने समय भएकाले प्रदेशसभा आह्वान गर्न जरुरी रहेको बताउनुभयो । उहाँले चाँडै बैठक बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोना भाइरसको महामारीको ख्याल गर्दै बैठक सुरक्षित र व्यवस्थित हुने बताउनुभयो । प्रदेशसभा सदस्यहरुमा सङ्क्रमणको जोखिम कम गर्न आउजाउको समस्या कम गर्नका लागि सदस्यहरुलाई राजधानी हेटौँडामा सुरक्षित बासस्थानको व्यवस्था गरिने जानकारी दिनुभयो । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया लगायतले प्रदेशसभा भवनको अवलोकन तथा निरीक्षणमा गर्नुभएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button