तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई ४ अर्ब ६८ करोड ८२ लाख अनुदान सहयोग

विश्वव्यापी ग्रिन क्लाइमेट फण्ड र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृर्षि संगठन एफएओेले संयुक्तरुपमा नेपाललाई ४ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएका छन् ।

नेपाल सरकारको बजेट प्रणाली मार्फत खर्च हुने गरी पहिलो पटक प्राप्त सो सहयोग रकम नेपालको चुरे क्षेत्रको दिगो वातावरण संरक्षण सम्बन्धी परियोजनाको कार्यान्वयनका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालमा सबल चुरे क्षेत्र निर्माण(विआरसिआरएन) सम्बन्धी सो परियोजनाको मुख्य उद्देश्य चुरे क्षेत्रमा एकीकृत दिगो प्रकृतिक स्रोतको व्यवस्थापन अवधारणा अनुसार त्यस क्षेत्रमा बसोवास गर्ने जनता तथा त्यस क्षेत्रको जैविक र वातावरणीय अवस्थाको सवलीकरण गर्ने रहेको छ ।

परियोजनाको कार्यान्वयनबाट नेपालका प्रदेश नं १, २ र वाग्मती प्रदेशका २६ वटा नदी प्रणालीको संरक्षण र सुधार भई त्यस क्षेत्रका २ लाख ६ सय ८१ घरपरिवार लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय मार्फत कार्यान्वयन हुने सो परियोजना साढे ६ बर्षसम्म सञ्चालन हुनेछ ।

परियोजनाले तीनै प्रदेशको वातावरणीय अवस्थालाई दिगो प्रकृतिक स्रोतको व्यवस्थापन प्रणाली मार्फत पुर्नस्थापित गर्ने, संस्थागत र योजना प्रणालीमा सुधार गर्ने, ज्ञानको अभिवृद्धि मार्फत स्थानीय जनतामा सचेतना र क्षमता अभिवृद्धि गर्ने रहेको छ ।

सम्भौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयलको अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद नेपाल तथा एफएओ एवं जिसिएफको तर्फबाट नेपाल र भुटान हेर्ने प्रतिनिधि सोमसाक पिपोपपिन्योले हस्ताक्षर गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button