तपाईँ सुन्दै हुनुहुन्छः

पानी पर्न थालेसँगै चोरी निकासी घट्यो

काठमाडौं ।  वैशाख लागेसँगै दैनिकजसो वर्षा हुन थालेपछि राजधानीसँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठ दाउरा चोरी निकासीमा कमी आउन थालेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि दाउरा र शिकारका लागि निकुञ्ज छिर्नेको सङ््ख्या बढेको थियो । वैशाख लागेसँगै शुरु भएको मनसुनका कारण जुका लाग्न थालेकाले चोरी निकासी एवं शिकार गर्नेको सङ््ख्यामा कमी आउन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले राससलाई जानकारी दिनुभयो ।

बन्दाबन्दी घोषणा हुनुअघिदेखि नै बजारमा ग्यासको अभाव भएपछि राजधानीको उत्तरी भेगमा रहेको निकुञ्जबाट दाउराका रुपमा रुख कटान गर्नेको सङ्ख्या बढेको थियो । बन्दाबन्दी घोषणा भएपछिको दुई हप्तामा दाउरा चोरिरहेको अवस्थामा २५० जनाभन्दा बढी मानिसलाई समातिएको निकुञ्जले जनाएको छ । वैशाखपछि पानी पर्न थालेकाले निकुञ्जको विनाश हुने क्रममा कमी आएको छ ।

बन्दाबन्दी शुरु भएपछि उपत्यकाबाट निकुञ्जका चोर बाटो हुँदै सिन्धुपाल्चोक, नुवाकोट र धादिङतिर मानिस बाहिरिँदासमेत चोरी निकासी वृद्धि भएको थियो । वैशाखपछि भने निकुञ्जको बाटो भएर बाहिरिनेको सङ्ख्यामा कमी आएको छ । बन्दाबन्दी शुरु भएपछि सुन्दरीजल, नयाँपाटी, गाँगलफेदी क्षेत्रबाट धेरै मानिस काम नभएकाले दाउरा काट्न आएको भन्दै निकुञ्ज छिर्ने गरेको भेटिएका निकुञ्जका सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठले बताउनुभयो ।

केही मानिसले भने बन्दाबन्दीको मौका छोपेर निकुञ्जबाट दाउरा चोरी गरी बेच्ने गरेका छन् । दाउरा बेच्ने राति जङ्गल छिरी बिहान भारीका भारी दाउरा ओसार्छन् । निकुञ्जले सुकेको साना सिटा मात्र दाउराका रुपमा लैजानेलाई नियन्त्रणमा लिँदैन । हतियार भने खोस्ने गरेको छ । हरियो रुख र सुकेका पनि ठूला मूढा काट्नेलाई काठसहित नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रियामा अघि बढाउने गरेको सहायक संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ गरी चार जिल्लामा फैलिएको निकुञ्ज क्षेत्रलाई १० स्थानीय तहले छुन्छ । काठमाडौँका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर र नागार्जुन नगरपालिकाले निकुञ्जलाई छुन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, नुवाकोटका शिवपुरी र ककनी गाउँपालिका एवं धादिङको धुनिबेँसी नगरपालिका क्षेत्रमा निकुञ्ज फैलिएको छ ।

काठ दाउरा चोरी निकासी बढ्न थालेपछि निकुञ्जका कर्मचारी र सुरक्षामा खटिएको नेपाली सेनाले संयुक्त गस्ती र पेट्रोलिङ बढाएको छ । निकुञ्जमा हाल नागार्जुन, गुर्जेभञ्ज्याङ, डाँडागाउँ, पानीमुहान, सुन्दरीजल र चिसापानी गरी छ स्थानमा स्थायी जाँच केन्द्र (चेक पोइन्ट) छन् । मणिचुड, झुले, नयाँपाटीलगायत स्थानमा बेला बेलामा अस्थायी जाँच केन्द्र पनि राखिने गरेको जनाइएको छ ।

विसं २०५८ मा स्थापना भएको यो निकुञ्ज १५९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा ध्वाँसे चितुवा, आसामी बाँदर, सालकलगायत विविध जातका जीवजन्तु पाइन्छन् । राजधानीमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध गराउने यो क्षेत्र उपत्यकावासीका लागि महत्वपूर्ण छ ।

निकुञ्ज स्थापना हुनुअघि शिवपुरी जलाधार संरक्षणस्थलका रुपमा यसलाई विकास गरिएको थियो । निकुञ्जमा विभिन्न जातका जडीबुटीसमेत पाइन्छन् । जडीबुटी, औषधिका लागि भन्दै पाहा र चरा मार्न पनि मानिस शिवपुरी निकुञ्ज छिर्ने गरेका छन् । हाल तरकारीका लागि निउरो टिप्न पनि निकुञ्ज नजिकैको बस्तीका मानिस निकुञ्ज छिर्छन् ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button