तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा लकडाउन खुकुलो

दोलखा । सरकारले घोषणा गरेको लकडाउनको अबधि ६ दिन बाँकी रहदा दोलखामा लकडाउन खुकुलो हुँदै गएको छ ।

यस अघि दोलखाको सदरमुकाम चरिकोट, जिरी, मैनापोखी, सिंगटी, किर्ने लगायतका बजार क्षेत्रमा लकडाउन कडा गरिएकोमा केहि दिन यता सदरमुकाम चरिकोटमा सहकारी, इन्सुरेन्स कम्पनी र बैङ्कहरू खुला गरिएपछि नीजि सवारी साधनसँगै मानिसहरूको चहलपहलमा समेत बृद्धि भएको छ ।

दोलखा छिर्ने नाकाहरूमा कडाई नहुदा तरकारी, फलफुल, निर्माण सामग्री, खाद्यान्नका गाडीहरू तराईबाट निर्वाध रूपमा भित्रिएकाले कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको गुनासो छ ।

अत्यावश्यक वस्तुहरू ढुवानी गर्ने गाडीहरूलाई निर्मलीकरण गरेर निश्चित अवधि सुरक्षित राखेरमात्र प्रवेश दिनुपर्नेमा बिना चेकजाँच प्रवेश दिदा जोखिम झन बढ्नेमा स्थानीयको चिन्ता छ ।

सहकारी संस्थाहरूमा सदस्यहरूको कारोवार लगभग शुन्य नै हुने गरेपनि प्रदेश सरकारको निर्देशनमा जोखिम मोलेर सहकारी सञ्चालन गर्नु परेको एक जना सहकारी सञ्चालकले गुनासो गर्नुभयो ।

बैङ्कहरू समेत आलोपालो गरि निश्चित समय सञ्चालन गर्दा हुनेमा जिल्ला विपद् ब्यवस्थापन समितिले सबै बैङ्कहरू अनिर्वाय सञ्चालन गर्न निर्देशन गरेपछि मानिसहरूको चहलपहल अस्वभाविक रूपमा वृद्धि भएको बजारवासीको गुनासो छ ।

लकडाउनकै अवधीमा जिल्लामा ११ हजारभन्दा बढी नागरिक भित्रिएको भएपनि उहाँहरूको स्थानीय तहले सामान्य स्वास्थ्य जाँचमात्र गरेकोले जिल्लामा कोरोनाको जोखिम आँकलन गर्न नसकिने सरोकारवालाहरू बताउनुहुन्छ ।

लकडाउनको अवधीमा दोलखा भित्रिएका नागरिकहरूको आरडिटी परिक्षण गर्ने र होम क्वारेन्टाइनमा राख्ने ब्यबस्था हुनुपर्ने स्थानीयको माग रहेको छ ।

दोलखाको छिमेकी रामेछापमा समेत लकडाउन कडा हुन नसक्दा भारत लगायत तराईका जिल्लाबाट समेत मानिस र विभिन्न सामग्रीहरू असुरक्षित ढङ्गले भित्रिएको सरोकारवालाहरूको गुनासो छ ।

रामेछापका पत्रकार टीका भट्ट रामेछापमा लकडाउन खुकुलो रहेको र सिमाबाट भित्रिएका मानिस तथा सामानहरू असुरक्षित ढङ्गले रामेछाप र दोलखामा भित्रिएकोले जोखिम बढी रहेको बताउनुहुन्छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल जिल्लामा लकडाउन खुकुलो नभएको बताउनुहुन्छ । हामीले स्थानीय आवश्यकतालाई हेरेर विकास निर्माणको कामलाई केही सहज गरेका छौ तर लकडाउन खुकुलो छैन, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

भारतको सिक्किम, दार्जिलिङ लगायतबाट अहिले पनि पाँचहजार बढी दोलखाली घर फर्कन चाहेको तर लकडाउन अघि उहाँहरूलाई ल्याउन सम्भव नभएकोले लकडाउनपछि छलफल हुने प्रमुख जिल्ला अधिकारी पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button