तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

काठमाडौं । आज १सय तीसौं अन्तर्राष्ट्रिय श्रमिक दिवस, कोभिड–१९ को कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक सन्देश दिनुुहुुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गर्नुभएको छ ।

मजदूर आन्दोलनको सम्झनामा मई दिवस
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button