तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु

मेलम्ची । नयाँ शैक्षिक सत्रका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले भर्ना सुरु गरेका छन् ।

गाउँपालिकाका सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो । सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उहाँले भन्नुभयोे ।

यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button