तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

सल्यान । बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई भएपनि सल्यानका बजारमा अनुगमन गरिएको पाइएको छैन । बन्दा बन्दीसंगै बजारमा उपभोग्य वस्तुको मुल्य वृद्धि भएको छ भने म्याद गएका वस्तुहरु विक्री भएको पाईएको छ । तर दशैं तिहार बाहेक अन्य समयमा बजार अनुगमन भएको पाइँदैन ।

बन्दा बन्दी अघि ल्याएको आटो पिठो अहिले पनि बजारमा पाइएको छ । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा मानवअधिकार कर्मी रामचन्द्र रेग्मीले बजारमा म्याद गुज्रे उपभोग्य वस्तु विक्री भइरहेको बताउनुभयो । उहाँका अनुसार बजार अनुगमन नहुदा मंहगी, कालोबजारी र अखाद्य वस्तु विक्री भइरहेको छ ।

सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरवहादुर चलाउनेले बन्दाबन्दीको समयमा अखाद्य समान विक्री नगर्न र मुल्य अनावश्यक नबढाउन सबै व्यापारीलाई सचेत बनाएको बताउनुभयो ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले बजारमा अखाद्य वस्तु विक्री भइरहेको जनगुनासो आएपनि बन्दा बन्दीमा अनुगमन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति रहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बजार अनुगमनको जिम्मेवारी स्थानीय तहको भएको बताउनुभयो । स्थानीय तहको अधिकार भित्र बजार अनुगमनको जिम्मेवारी तोकिएकोले अनुगमन गर्न समन्वय गरिएको छ ।

बन्दा बन्दीको समयमा अखाद्य वस्तु विक्री र मुल्य वृद्धि रोक्न उद्योग वाणिज्य संघलाई पनि पटक पटक अनुरोध गरिएको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button