तपाईँ सुन्दै हुनुहुन्छः

इञ्जिनियर्स एशोसिएशनबाट स्वास्थ्य सामग्री हस्तान्तरण

मेलम्ची । नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनियरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाइ कोरोना भाइरस (कोभिड १९) को स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वाब संकलन बुथ लगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मेलम्चीमा आज एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । जिल्लाको चौतारा, बाह्रबिसे र मेलम्ची तीनै ठाउँमा सुुरक्षित रूपमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको इञ्जिनियर्स एशोसिएशनले जनाएको छ ।

संस्थाले मेलम्चीमा एक थान स्वाब संकलन बुथ, तीनथान पिपिइ सेट, एक थान थर्मल गन र १५थान एन–९५ मास्क लगायत स्वास्थ्य सामग्री मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिलाइ हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका सामग्रीको मुल्य रु ९० हजार पर्ने सहयोगी संस्था सिन्धु इञ्जिनियरिङ समाजका अध्यक्ष सञ्जय सापकोटाले बताउनुभयो । उक्त सामान सिन्धुपाल्चोकको ३ लगाएत बाग्मति प्रदेशको १३ ठाउँमा वितरण गरिने नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मती प्रदेशका कोषाध्यक्ष राजन थापाले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख डम्बर अर्यालले सहयोगि निकायलाइ धन्यवाद दिनुभयो । कोरोनाभाइरसको शङ्का लागेका व्यक्तिले अब चौतारा, बाह्रबिसे र मेलम्चीमध्ये आफूलाई पायक पर्ने स्थानमा गएर नमूना सङ्कलन गर्न सक्नेछन् ।

जिल्लाको तीन स्थानबाट सङ्कलन गरिएको नमूनालाई परीक्षणका लागि टेकु प्रयोगशाला पठाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button