तपाईँ सुन्दै हुनुहुन्छः

‘लकडाउन अवधिभर उपत्यका आउनेरजाने नगरौँ’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको सङ्ख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गइरहेकाले प्रमुख शाक्यले सबैसँग यस किसिमको आग्रह गर्नुभएको हो ।

शाक्यले लकडाउन जारी र सङ्क्रमण फैलिरहेकै समयमा काठमाडौँ उपत्यकाका मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति सङ्केत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो ।

प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र जिल्लाका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

“पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँभित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन् ।” उहाँले भन्नुभयो, “विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।”

लकडाउन शुरु भएपछि कामपाले अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म ७४ हजारलाई राहत वितरण गरिएको र यस अवधिमा महानगरबाट ४९ हजारभन्दा बढी प्लेट खाना खुवाएको जानकारी दिएको छ ।

कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथी र अन्यले पनि थाहा पाएमा उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री नं ११८० र ११३१ मा जानकारी दिन पनि कामपाले आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button