२०७८ साल असार ७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुका किसानलाई मलमा अनुदान

–देवराज सुवेदी २०७७ वैशाख १७ गते १२:०३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले मल ढुवानीमा अनुदान पाउने भएका छन् । कृषि उत्पादन बढाउन किसानलाई पहिलो चरणमा तीन हजार बोरा रासायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । ढुवानीको जिम्मा गाउँपालिकाका कृषि सहकारी संस्थाले लिनेछन् ।

वार्षिक कम्तीमा छ हजार बोरा रासायनिक मल खपत हुने गाउँमा बजार मूल्यभन्दा प्रतिबोरा रु ४५० कममा मल पाउने भएपछि किसानलाई रु २७ लाख सस्तो पर्ने भएको छ । गाउँपालिकाले प्रतिबोरा रु १३० अनुदान दिने भएपछि सहकारीले संस्थानकै मूल्यमा किसानलाई मल दिन तयार भएको छ । संस्थानको मूल्यअनुसार किसानले युरियामल अहिले बजारभाउभन्दा रु ४५० को हाराहारीमा सस्तोमा पाउनेछन् । हेलम्बुमा आलु, मुला, धान, कमै, कोदो, गहुँलगायत उत्पादन हुने गरेको छ । अहिले स्याउ खेती पनि हुन थालेको छ ।

गाउँ कार्यपालिकाको मङ्गलबारको बैठकले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको अवस्थामा किसानलाई सुपथमूल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालले कृषकलाई दुई चरणमा मल उपलब्ध गराइने जानकारी दिँदै बर्खेबालीका लागि यही महिना र हिउँदे बालीका लागि कात्तिकको दोस्रो सातासम्म मल ढुवानीमा अनुदान दिइने बताउनुभयो ।

स्थानीय रातोपुल कृषि सहकारी संस्थाले हेलम्बुमा रहेका सबै किसानका लागि रासायनिक मल ल्याउनेछ । हेलम्बुमा रहेका कृषि सहकारीको बैठकमा रातोपुल कृषि सहकारीले आफूले गाडीभाडा बराबरको रकम अनुदान पाउने भएपछि संस्थानकै मूल्यमा मल दिनसक्ने जनाएसँगै किसानले सस्तोमा मल पाउने गाउँपालिकाका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

मजदुरलाई खाद्यान्न सहयोग

बलेफी गाउँपालिकाले एक हजार ५० जना श्रमिक मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । दैनिक ज्यालादारी गर्ने मजदुरलाई वडा कार्यालयमार्फत राहत सहयोग गरेको गरिएको हो । गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उनीहरुलाई घरमै पुगेर दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाले हालसम्म आफ्नो क्षेत्रभित्र ५३ जनाको कोरोना जाँच गराएको छ । ती सबैको नतिजा नेगेटिभ आएको जलवीरे स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन शोभा पराजुलीले जानकारी दिनुभयो ।

रासस

सम्बन्धित