तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

महोत्तरी । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो ।

अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । मङ्गलबार रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश नं २ कोस्वास्थ्य निर्देशनालयको कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रदेशमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ । हालसम्म सङ्कलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा सङ्क्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ, यसमा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक रहेका छन् । प्रदेशमा सङ्क्रमितमध्ये पर्सामा भेटिएका तीन भारतीय र रौतहटका एक उपचारपछि निको भएर घर फर्किसकेका छन् । अब पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एक उपचाररत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button