तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको कोरोना अस्पतालमा कर्मचारीबाटै चोरी, छानविन समिति गठन

चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरूले नै समान चोरी गरेको आरोप लागेको छ ।

अस्पतालमा कार्यरत कर्मचारीहरूले रातको समयमा अस्पतालमा समान चोरी गरेको भिडियो भन्दै अहिले अस्पतालको सीसीटीभी फुटेज सार्वजनिक भएको हो ।

कोरोना आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारका लागि भनेर भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालको व्यवस्थापनको पारदर्शिता माथि अनेकौँ प्रश्न उठेका छन् ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरू पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिएको छ ।

अस्पतालभित्र रहेको पङ्खा, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी, छानी उठाएर प्याक गरेको भिडियोमा देखिएको छ ।

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो ।

वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए ।

रातको समयमा अस्पतालबाट कर्मचारीहरुले सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न बसेको कोरोना अस्पताल कार्यदलको बैठकमा लामो बहस भएको थियो ।

राजु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन
बैठकमा सहभागी हुने गरेका कर्मचारीहरुलाई बैठक कक्षबाट बाहिर निकाली कार्यदलका सदस्यहरुका बीचमा मात्र भएको छलफलमा भिडियोको विषयमा छानबिन हुनुपर्ने माग उठेको थियो ।

बैठकले घटनाको छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक एक जना प्रतिनिधि रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button