तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमित भेटिएपछि झापाको बाह्रदशी गाउँपालिका सिल

भद्रपुर, झापा । कोरोना सङ्क्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला सिल गरेको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो ।

हिजो बाह्रदशी गाउँपालिकाको राजगढका मुस्लिम समुदायका एक जनामा कोरोना भाइरसको सक्र्रमण पुष्टि भएको थियो । उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती हुन् ।

बाह्रदशी गाउँपालिका–४ साबिक चकचकीका ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुई पटक आरडिटी विधिबाट कोरोना परीक्षणमा नेगेटिभ आए पनि सुनिश्चित गर्न स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा उनी पोजेटिभ देखिएका हुन् ।

आफनो क्षेत्रमा संक्रमण देखिएपछि गाउँपालिकाले पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को विरीङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ विरीङ खोलासम्मको क्षेत्रलाई सिल गरेको छ ।

बैशाख २५ गतेसम्मका लागि सो क्षेत्रमा आवतजावतमा रोक लगाउने निर्णय भएको बाह्रदशी गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो ।

बाह्रदशी गाउँपालिका–३ पश्चिममा रहेको राधानगरको बस्ती पनि सिल गरिएको कांग्रेस नेता तथा रेडक्रसकर्मी दयानन्द गोस्वामीले बताउनुभयो ।

सिल गरिएको समयावधिभरि सर्वसाधारणलाई घरबाट बाहिर नआउन गाउँपालिकाले अपिल गरेको छ भने निषेधित क्षेत्रको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने सहमति भएको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button