तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार गर्दै क्वारेन्टाइनमा राख्दै स्थानीय सरकार

सल्यान । सल्यानका अन्तर जिल्ला तथा बिदेशबाट आएका एक हजार एक सय ८७ क्वारेनटाइनमा बसिरहेका छन् ।

लकडाउनको अवधिमा बाहिरबाट आएकालाई अनिवार्य क्वारेनटाइनमा राख्न स्थानीय प्रशासनले निर्देशन गरे अनुसार सबै स्थानीय तहले क्वारेनटाइनमा राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार लकडाउन अघि र पछिको समयमा जिल्लामा आउनेमा बढीजसो मजदुर रहेका छन् । इँटा, उद्योग पुर्वाधारका योजना र राजधानीमा काम गर्नेहरु लामो समय लकडाउन भएपछि उता बस्न असजिलो भएपछि घर फर्किएका हुन ।

क्वारेनटाइनमा सबैभन्दा धेरै कपुरकोट गाउँपालिकामा बसिरहेका छन् । कपुरकोट गाउँपालिकामा मात्र आठ सय ४९ जना क्वारेनटाइनमा बसिरहेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई विद्यालय तथा सामुदायिक वनको भवनमा राखिएको छ ।

पाँच सय ८५ जना पुरुष, र २ सय ६४ महिला रहेका छ । ती मध्ये ५५ जना बालबालिका र चार जना गर्भवती समेत रहेको कपुरकोट कोभिड–१९ फोकल पर्सन देवेन्द्र कुमार सेन बताउनुभयो ।

त्रिवेणी गाउँपालिकामा २५, छत्रेश्वरी गाउँपालिकामा दुई सय तीन, कुमाख गाउँपालिकामा चार, कालिमाटी गाउँपालिका चार, शारदा नगरपालिकामा नौ जना र सिद्ध कुमाख गाउँपालिकामा ३६ जना बसिरहेका छन् । उनीहरुको नियमित स्वास्थ्य परीक्षण तथा निगरानी भइरहेको स्थानीय तहहरुले बताएका छन् ।

विभिन्न जिल्लामा मजदुरीका लागि पुगेका नागरिकहरुको उद्दार गर्दै क्वारेनटाइनमा राख्दै गरि रहेको छत्रेश्वरी गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताउनुभयो । अलपत्र परेकाहरुलाई उद्दार गरी क्वारेनटाइनमा राखिएको उहाँको भनाई छ ।

भारत लगायतका अन्तरजिल्लाबाट आएका व्यक्ति सयौं भएपनि थोरैमात्र क्वारेनटाइनमा बसिरहेका छन् । क्वारेनटाइनमा बस्न आग्रह गरिए पनि नआएपछि होम क्वारेनटाइनमा सुरक्षित ढंगले बस्न आग्रह गरिएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले बताउनुभयो । बागचौरमा मात्र झन्डै पाँच हजार बढी आएको तथ्यांक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button