तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रालयद्वारा ‘लकडाउन’लाई थप कडा पार्न मातहतका निकायलाई निर्देशन

काठमाडौँ – ‘लकडाउन’लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ । रासस
­­­

प्रतिक्रिया राख्नुहोस्

Back to top button