तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत नियमित गराउन नसक्ने सहकारीसँग सम्झौता तोड्न प्राधिकरणलाई आग्रह   

मार्तडी – नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ ।

पुराना मेशिन बिग्रन थालेपछि बिजुली नियमित नआउँदा जिल्लावासी अध्यारोमा बस्न बाध्य छन् । केन्द्रले २०६६ सालमा सम्झौता गरी विद्युत सञ्चालन गर्दै आएको छ । टावरमा सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी)ले बम प्रहार गरेर क्षतिसमेत तुल्याएको थियो । त्यसपछि पनि मेशिन बिग्रँदा सामान्य मर्मत गरेर चलाउने गरिएको छ ।

जिल्लाका सञ्चारमाध्यमसहित अति आवश्यक सरकारी कार्यालयले समेत विद्युत नियमित नहुँदा सेवामा समस्या भोगेका छन् । हाल कोरना भाइरसको संक्रमण कमरण नियमति रुपमा खुला रहने जिल्ला अस्पताल बाजुरा, जिल्ला प्रशासन कार्यालय, र स्वास्थ्य कार्यालयले विद्युत नियमति नभएपछि सोलार जडान गरी सेवा दिँदै आएका छन् ।

विद्युत नियमित गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पटक÷पटक केन्द्रको सञ्चालक समितिलाई भन्दै आएको छ । जिल्लामा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र सेवाग्राहीले विद्युत नियमित नगर्ने भए प्राधिकरणलाई नै जिम्मेवारी बुझाउन सुझाव समेत दिँदै आएका छन् ।

बन्दाबन्दीको समस्या भएको बेला घरमा समय बिताउँदा अँध्यारोमा बस्नु परेको स्थानीयवासी अधिवक्ता हर्क खडायतले बताउनुभयो । बिजुली नहुँदा इन्टरनेटको पहुँचबाट टाढा हुनाका साथै महत्वपूर्ण समाचार छुट्ने स्थानीयवासीको भनाइ छ । बडीमालिका नगरपालिका–९ का स्थानीयवासी सन्तोष विश्वकर्माले वर्षेनी त्रिवेणी केन्द्रले विद्युतका ग्राहक थप्दै जाने र विद्युत नियमिततामा भने ध्यान नदिने गरेको जनाउनुभयो ।
असारमा खोलाले नहर बगाउने र अन्य समयमा मेशिन बिग्रेको निहुँ बनाउदै बत्ती नियमित नआउने गरेको विश्वकर्माको गुनासो रहेको छ । विश्वकर्माले भन्नुभयो–“अब सहकारीले प्राविधिकरणलाई हस्तान्तरण गरेर राष्ट्रिय प्रसारण लाइन जोड्नुपर्ने आवश्यकता छ ।”

 सेवाग्राहीले नियमित रुपमा बत्ती बाल्न नपाए पनि मासिक रुपमा महसुल तिर्न बाध्य भएको विश्वकर्माको भनाइ छ । पटक पटक बत्ती आउने र जाने मात्र हुने गर्छ । दिनमा चार भन्दा बढी पटक आउने र जाने गरेकाले सेवाग्राही बत्ती बाल्न भन्दा महसुल तिर्ने गरेको विश्वकर्मा बताउनुहुन्छ।

बडीमालिका खबरका अनलाइनका सम्पादक लक्ष्मीराज पाध्यायले हरपल समाचार दिनुपर्ने आफूहरुलाई बिजुली नियमित नहुँदा समस्या परेको बतायनुभयो । स्थानीय व्यवसायी तुलाबहादुर रोकायाले त्रिवेणी केन्द्रले आफ्नो जिम्मेवारी प्राविधिकरणलाइ फिर्ता गर्नु नै वकल्प भएको बताउनुभयो ।

त्रिवेणी सहकारी मार्फत सञ्चालनमा रहेको वित्रेणी साना जलविद्युत् केन्द्रको मर्मत खर्चमा प्रत्येक वर्षमा रु १२ लाख बढी खर्च हुने गरेको केन्द्रका अध्यक्ष अशोक रावलले बताउनुहुन्छ । बन्दाबन्दीमा नयाँ मेशिन ल्याउन नसकिने भएपछि दैनिक दुई घण्टा लोडसेडिङ् गर्न बाध्य भएको केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो ।

 प्राधिकरण बाजुरा वितरण केन्द्रका निमित्त वितरक प्रमुख डम्बर भाटले सहकारीले २० वर्षका लागि सम्झौता गरेका तत्काल आफूहरुले लिन नसकिने तर जनगुनासो सम्बोधनका लागि केन्द्रलाई आग्रह गरिँदै आएको जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button