तपाईँ सुन्दै हुनुहुन्छः

सिरहामा स्वाब सङ्कलनमा तीव्रता

लहान – छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाका विभिन्न छ स्थानीय तहमा स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।

स्वास्थ्यकर्मीसहितको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका तथा अर्नामा गाउँपालिकामा स्वाब सङ्कलन कार्यलाई तीव्रता दिएको हो ।

स्वास्थ्यकर्मीको टोलीले पहिलो दिन शनिबार मात्रै लहान नगरपालिकामा ६९, गोलबजार नगरपालिकामा ६४, मिर्चैया नगरपालिकामा ६० र अर्नमा गाउँपालिकामा ५० गरी २४३ जनाको स्वाब सङ्कलन गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाको ६४ मध्ये १० जना धनगढीमाई नगरपालिकाका रहेको गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले जानकारी दिनुभयो । सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकामा आज स्वाब सङ्कलन गरिने जनाइएको छ ।

नेपाली सेना, मेडिकल ल्याब एशोसिएशन अफ नेपाल ९मेलान० र इडिसिटीबाट आएको प्राविधिक टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । उदयपुर जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहामा उच्च सतर्कता अपनाउँदै पिसीआर प्रविधिबाट परीक्षण गर्न स्थानीय तहमा स्वाब सङ्कलन शुरु गरिएको प्रजिअ गुरागाईँले बताउनुभयो ।

सङ्कलित स्वाबको नमूना परीक्षणका लागि एम्बुलेन्सबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँ पठाइएको प्रजिअ गुरागाईँले बताउनुभयो ।

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
लक्ष्मी बैंक लिमिटेड लहानले आज प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि बैंकले इलाका प्रहरी कार्यलय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीलाई स्वास्थ्य सुरक्षा सामग्री पिपिइ एक थान र इन्फारेड थर्मोमिटर एक थान सहयोग गरेको छ ।

दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला नागरिकको सुरक्षामा खटिरहने सुरक्षाकर्मीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बैंकले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button