तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनले दाङका किसानलाई  मह काढ्न समस्या   

लमही – लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा कृषकले मह काढ्न सकेका छैनन् ।

दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ ।

गत चैत १५ गतेदेखि मह काढ्ने याम शुरु भए पनि सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको नेपाल मौरीपालन महासंघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस याममा मौरी चरनका लागि यहाँका कृषकले कैलाली, लुम्बिनी, कपिलवस्तुलगायत जिल्लामा लगेका थिए । मौरीपालन फार्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नपाउँदा रु १५ लाख बराबरको घाटा लागेको बताउनुभयो ।

चार सय गोला मौरी पालन गर्नुभएका केसीले यस याममा तीन टन मह उत्पादन गर्नुहुन्थ्यो । यस वर्र्ष एक किलो मह पनि उत्पादन नभएको उहाँले बताउनुभयो । ‘‘मेरो मौरी कैलालीमा छ, म चैत २ गते यहाँ आएको हुँ, लकडाउनका कारण समयमा जनशक्ति र साधन नहुँदा मह काढ्न पाइन ’’, उहाँले भन्नुभयो ।

यस वर्ष करीब ४० गोला मौरी थप गर्ने योजना रहे पनि गोला फुटेर मौरी सबै भागेको केसीको भनाइ छ । त्यस्तै ३०० घार मौरीपालन गर्नुभएका विनोद हमालले पनि लकडाउनका कारण मह काढ्न नपाएको गुनासो गर्नुभयो । धेरैजसो किसानका मौरी अहिले चरनका लागि कैलालीलगायत जिल्लामा छन् ।

 यससँगै माहुरीका लागि चरन सकिए पनि लकडाउनका कारण सम्बन्धित ठाउँमा पुग्न नसक्दा मौरी कसरी बचाउने भन्ने चिन्ता कृषकलाई छ । मौसमले साथ दिएको र कुनै रोग नलागेका कारण यस वर्ष मौरी र मह उत्पादन बढ्ने आशामा बसेका कृषकमा निराशा छाएको अर्का कृषक विष्णु केसीले बताउनुभयो ।

उहाँले १५० गोला माहुरीपालन गरेकामा एक केजी महसमेत उत्पादन नभएको र गोला थप गर्न नसकिको गुनासो गर्नुभयो ।

कृषकले यहाँ १६ हजार गोला मौरी पालेका छन् । त्यसबाट यस याममा करीब १६० देखि २०० टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकको करीब रु पाँच करोड क्षति भएको अनुमान गरिएको छ ।

मह प्रतिकिलो रु २५० देखि ३०० सम्म बिक्री हँुदै आएको थियो । जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकलाई जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button