तपाईँ सुन्दै हुनुहुन्छः

बजारको पहूँच नपुगेको क्षेत्रमा मेची उद्योग वाणिज्य संघको घरदैलो अभियान

भद्रपुर, झापा । लकडाउनको मौका छोपेर व्यपारीले दैनिक उपभोग्य सामग्रीमा मुल्य वृद्घि नगरुन् र उपभोक्ताले समेत सर्वसुलभ मुल्यमा उपभोग्य सामग्री प्राप्त गरुन भन्ने उद्देश्यले झापाको मेचीनगरस्थित मेची उद्योग वाणिज्य संघ, आफैँले घरदैलो अभियान शुरु गरेको छ ।

देशको विषम परिस्थितिमा उपभोक्ताले खाद्यान्नको अभाव व्यहोर्नु नपरोस् र बिचौलियाका कारण ठगिनु नपरोस् भन्ने उद्देश्यले पनि संघले यो कदम उठाएको हो ।

ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरेर संघले विभिन्न उद्योग र मिलहरुबाट खाद्यान्न सामग्री सोझै खरिद गर्ने र त्यसलाई प्याकेजिङ गरी ग्रामीण उपभोक्ताको घर घरमा पुर्याउने गरी अभियान शुरु गरेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

पहिलो चरणमा मेचीनगरको १ देखि ४ सम्मका वडामा पुर्याउने, त्यसपछि ७ र १५ लगायत बजारको पहुँचदेखि टाढा रहेका उपभोक्तासमक्ष पुग्ने अध्यक्ष तिम्सिनाको भनाई छ ।

यसका लागि शुक्रबारसम्ममा ५० टन चामल, पाँच टन दाल, दुई/दुई लिटरका सेलो र तोरी खानेतेल, १० हजार केजी आँटा, एक सय बोरा आयोडिन युक्त नून भण्डारण गरिसकेको संघका महासचिव ध्रुव कनालले जानकारी दिनुभयो ।

लोड अनलोडमा खर्च कम गर्ने र त्यसबापत हुने खर्च बरु उपभोक्तालाई छुट दिने उद्देश्यले ती वस्तुको लोडअनलोड समेत संघका पदाधिकारीहरु आफैले गरेको वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताउनुभयो । बजारको पहुँच भएका क्षेत्रमा यो अभियान सञ्चालन नहुने संघको भनाई छ ।

तीन प्रकारको चामलको २०, २५ र ३० केजी , दाल २ र १ केजीसम्मका चिनी दुई केजी सनफ्लावर र तोरी तेल आधा आधा लिटरका प्याकेजिङ गरी संघले हरेक दिन घर घरमा पुर्याएर बिक्री गर्ने सचिव रविचन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button