तपाईँ सुन्दै हुनुहुन्छः

सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार  

काठमाडौँ – नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक नेपालीको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उक्त हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजीकार्यका लागि पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले सो शवको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

खोजीकार्यका लागि आवश्यक इक्युपमेण्ट तथा नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित शुक्रबार सेनाको हेलिकोप्टरद्वारा घटनास्थलतर्फ गएको उद्धार टोलीले उक्त स्थानमा देखिएको धादिङका मेमबहादुर तामाङ (पोर्टर) को शव र फेला परेका तीन झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाइएको हो ।

हाल सो शवलाई परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । साथै खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराइरहेका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा हिँउभित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा खोज तथा उद्धारमा खटिएको फौज सोही हेलिकोप्टरमार्फत पोखरा फिर्ता भएको छ ।

नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई निरन्तरता दिइरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि जानकारी गराइने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button