तपाईँ सुन्दै हुनुहुन्छः

प्रशासनले सहजिकरण नगर्दा सुनकोसी पुल अलपत्र

मेलम्ची । लकडाउनको समयमा सडक र पुल निर्माणका काम सुचारु हुनेगरि उचित व्यवस्था मिलाउन गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजिकरण नगर्दा बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने प्रिस्टेज पुलको काम अलपत्र परेको छ ।

पुलका दुवैतर्फ जग निर्माण भइसकेको छ । ढलानका लागि वायर समेत जडान गरिसकेको अवस्थामा काम रोकीएको हो । ‘स्ल्याप ढलान हाल्न मात्र बाँकी थियो, गृह मन्त्रालयले परिपत्र गरेपनि जिल्ला प्रशासनले सहजीकरण गर्न मानेन’, ठेकेदार कम्पनी हिम्दुङ एण्ड थोकर लामा जेभीका हिरा लामाले भने । स्थानीय तहको सिफारीसहित फाइल बुझाउँदा पनि प्रशासनले सुनकोसी पुल निर्माणको काममा सहजिकरण नगरेको लामाले बताउनुभयो ।

काम सुचारु हुन सके पन्ध्र दिनमै उक्त पुल निर्माण सम्पन्न भइसक्ने बताइएको छ । जिल्ला प्रशासनले बिभिन्न आयोजनाका लागि पासको प्रवन्ध मिलाएको भन्दै सुनकोसी पुलका लागि आवश्यक सहजीकरण गर्नुपर्ने स्थानीय जनप्रतिनीधि बताउँछन् । ‘जेठदेखि भदौसम्म खोला ठूलो हुन्छ, ढलानका लागी तयार बनाइएका सबै सामाग्री बगाउँन सक्छ’, त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष सुकदेव रिसालले भन्नुभयो ।

सिन्धुपाल्चोकाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले कोरोना महामारीको लकडाउनका कारण जिल्लाले कार्यविधि र केही मापदण्ड बनाएको र सोही अनुसार २५ आयोजना सुचारु भएको बताउनुभयो । पुलको ठेकदार सम्पर्कमा आएर मापदन्ड पुरा गरेर योजना अगाडी बडाउन सकिने उहाँको भनाईछ ।

०७३ मंसिरमै संझौता भएको यो पुलको काम स्थानीय विवादका कारण ०७५ बाट  मात्र सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button