तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा दश हजार बढीको नमूना सङ्कलन

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको द्रुत परीक्षण (र्यापिड टेष्ट)र पोलिमरेज चेन रियाक्सन (पिसीआर) बाट १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको छ ।

प्रदेशमा र्यापिड टेष्टमार्फत आठ हजार २०३ र पिसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।

¥यापिड टेष्टबाट पाँच जनामा पोजेटिभ देखिएको थियो भने पिसीआरबाट एक जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पाँच जनाको पिसीआर रिपोर्ट आउन बाँकी छ ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले जानकारी दिनुभयो । यसैगरी सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरसको नयाँ सङ्क्रमित देखापरेको छैन ।

वैशाख १ गते वीरगञ्जमा चिया पसल गर्दै आएकी लम्कीकी महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएयता अन्य कोहीमा नयाँ सङ्क्रमण देखिएको छैन । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत ९ मा लम्की आएकी थिइन् । भुरुवामा आफन्तकहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

वैशाख १ गते वीरगञ्जबाट फर्केकी महिलामा कोरोना पुष्टि भएपछि प्रदेशमा तीन पुरुष र दुई महिला गरी सङ्क्रमितको संख्या पाँच पुगेको थियो ।

चैत २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ की महिलामा कोरोनाको पुष्टि भएपछि नेपालमा कोरानाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । दुबइबाट चैत ७ गते दिल्ली हुँदै फर्केका अमृत शाहीकी भाउजुमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

तीन डिस्चार्ज, दुई उपचारमा
प्रदेशमा कोरोना देखिएका पहिलो व्यक्ति हुन् अमृत शाही । प्रादेशिक अस्पतालमा २८ दिन बसेर वैशाख ९ गतेमात्र अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीभन्दा अगाडि चैत २२ मा कोरोना पुष्टि भएका लम्की चुहा नगरपालिका–९ का राज विक वैशाख ७ गते डिस्चार्ज भएका थिए । वैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका ४२ वर्षीय इन्द्र विक डिस्चार्ज भएका छन् । प्रदेशमा पाँच सङ्क्रमित रहेकामा दुई महिला उपचारमा छन् ।

सेती प्रादेशिक अस्पतालले दुवै महिलाको अवस्था सामान्य रहेको जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ जना शङ्कास्पद व्यक्तिको उपचार भएको जनाइएको छ । २४ घण्टा यता नयाँ शङ्कास्पद व्यक्तिहरु नरहेको जानकारी दिएको छ ।

प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने छ जना आइसोलेसनमा राखिएका छन् ।

प्रदेशमा ३२२ स्थानमा छ हजार ७२८ श्ययाको क्वारेन्टाइन सञ्चालनमा छ । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button