तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं ५ : पैदलयात्रीको उद्धारमा सक्रिय स्थानीय सरकार

बुटवल – घर भएका हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुग्नुभयो । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान हुनुहुन्थ्यो ।

बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा विश्राम गरिरहेका चन्दसहितका १२० ज मजदूरलाई भेटे । उनीहरु तत्कालै तिनको उद्धारमा लागे । वडाध्यक्ष महेन्द्र लिगलसहित स्थानीयवासीले खाना पकाएर तिनलाई खुवाए । सोही स्थानमै तत्कालै स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य जाँच ग¥यो । गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यतर्फ पठाउनेसम्मको काम भयो ।

सोलुखुम्बुबाट पैदलै आइपुग्नुभएका चन्दले बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको प्रतिक्रिया दिनुभयो । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका मजदूर ११ दिन लगाएर पैदलै सोलुखुम्बुबाट बुटवल आइपुगेका थिए । उनीहरु नियमित मजदूरी गर्दै आएका ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिंँडेका थिए ।

सोही टोलीमा काठमाडौँबाट आउनुभएका बैतडीका अमबहादुर अवस्थीले भोक र थकाइका बेला बुटवलले गरेको व्यवस्थाले सबै पीडा भुलाएको बताउनुभयो । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेदेखि नै बुटवल उपमहानगरपालिकाले राजमार्गमा अलपत्र यस्ता मजदूरको उद्धार गरी खानपिन तथा गन्तव्यमा पुग्ने सवारी साधनको समेत व्यवस्थापन गर्दैआएको छ ।

लकडाउनपछि मजदूरहरु काम पनि नहुने र रासन पनि सकिएपछि आठदश दिनसम्म हिँडेरै घर जान थालेका छन् । ‘‘हामी हिँड्दै दोलखाबाट आयौंँ’ सल्यान बाघचौरका थलराज चन्दले भन्नुभयो, ‘‘उता खाने कुरा पनि सकियो, काम पनि भए, यता आउनलाई गाडी नचलेपछि हिँडेरै आयौंँ’, उहाँले भन्नुभयो ।

बिहान ५ देखि राति ११ बजेसम्म लगातार हिँड्दा कतिदिन सडकमै सुतेको उहाँको भनाइ थियो । “दिनभरि हिँड्दा थकाइ लागेको हुन्थ्यो”, उहाँले भन्नुभयो, ‘‘न खाने ठेगान हुन्थ्यो न बस्ने खाने, बास सडकमै हुन्थ्यो ।’’

प्रदेश नं ५ को मुख्य केन्द्र बुटवलले विभिन्न ठाउँबाट बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका पैदल यात्रुलाई उद्धार र व्यवस्थापन गर्दै आएको छ । उनीहरुलाई बुटवल वडा नं १ र १२ मा वडाध्यक्षकै नेतृत्वमा खाने, बस्ने र बसमार्फत गन्तव्यसम्म पठाउने काम भइरहेको छ ।

बुटवल आइपुगेका पैदलयात्रु १७५ जनालाई बस र टिपरमार्फत शनिबार बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं १२ का वडाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । आइतबारसम्म एक हजार तीन सय सम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । निजीक्षेत्र, समाजसेवी र मनकारीको सहकार्यमा पैदल यात्रीको उद्धार, खानपान र यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

दाङ–यसरी लामो पैदल यात्राबाट गन्तव्यमा पुग्न दाङ आइपुगेका पैदल यात्रुलाई दाङमा पनि खानेबस्ने व्यवस्था गरिएको छ । तुलसीपुर, घोराही तथा लमहीमा पैदल यात्रुलाई खाने, बस्ने तथा यातायातको व्यवस्थापन गरिएको छ । यस्तो अवस्थामा सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै आफूहरुले खानेबस्ने तथा यातायातको व्यवस्थापन गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताउनुभयो ।

काठमाडौँ, दोलखा र गोरखाबाट आइतबार मात्र दाङ आइपुगेका पूर्वीरुकुम, सल्यान र पश्चिम दाङका ५९ मजदूरलाई तुलसीपुरको अरनिको मैदान अगाडि खानापिनको व्यवस्थापन गरेर गाडीबाट पठाइएको समाजसेवी बिम रिजालले जानकारी दिनुभयो । उहाँले पैदल यात्रुको खानाका लागि चामल र तेललगायत खाद्य पदार्थ उपलब्ध गराउनुभएको छ । अन्य व्यवस्थापन तुलसी उपमहानगरपालिकाको समन्वयमा यहाँका १० संघसंस्थाले गर्दै आएका छन् ।

परासी– प्रदेश नं ५ को पूर्वी प्रवेश नाका बर्दघाटदेखिपश्चिम बर्दियाको ठाकुरबाबा नगरपालिकासम्मका स्थानीय तहले पैदलयात्रीको व्यवस्थापन गरेका छन् ।

बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल त्यस्ता पैदल यात्रीलाई शुरुदेखि नै खानपिन र सकेसम्म सवारी साधनको व्यवस्थापन गरिँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार शुक्रबारदेखि आजसम्म मात्र झण्डै तीन सयको उद्धार र व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “पैदल यात्रीलाई खानपिन, स्वास्थ्य जाँच र गन्तव्यसम्म पुग्न गाडीको समेत व्यवस्था गरेका छौँ ।”

रुपन्देहीको सैनामैना नगरपालिका बुटवलसंँग जोडिएको राजमार्ग क्षेत्रको नगरपालिका हो । सो नगरपालिका क्षेत्रमा पनि पैदल यात्रु विभिन्न स्थानमा दैनिक विश्राम गरेका हुन्छन् । नगरपालिकाले सैनामैनाका निजी क्षेत्र र सहयोगदाताका सहयोगमा खानपिनको व्यवस्थापन गर्दै आएको र गन्तव्यसम्म पुर्याउन प्रहरीको सहयोगमा गाडीको व्यवस्थापन गर्दैआएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की बताउनुहुन्छ । नगरपालिकाले पैदलयात्रीको उद्धारको काम लकडाउन शुरु भएदेखि नै गर्दै आएको र झण्डै २ हजारको उद्धार तथा व्यवस्थापन गरेको छ । उहाँले भन्नुभयो, “ अहिले पनि ७५÷८० जना पैदल यात्रीलाई बिहानको खाजा खुवाउँदै छाँै, त्यसपछि गाडी चढाएर पठाउछौँ ।”

चन्द्रौटा –पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गर्ने नागरिकलाई स्थानीय तहको समन्वयमा कपिलवस्तुमा राजमार्गसँग जोडिएका शिवराज, बुद्धभूमि र वाणगंगा नगरपालिकाका युवाले खानपिनको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याउन सहयोग गरेका छन् । शिवराज १ शिवपुरमा एक साताभित्र मात्रै दुई सय पैदल यात्रुलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको छ । सिन्धुपाल्चोक, विराटनगर, काठमाडौँलगायत ठाउँबाट दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा जान पैदलै आइपुगेकाहरुको शिवपुर हाटबजार चौरमा खानाको व्यवस्था गरिएको स्थानीयवासी कृष्ण थापाले बताउनुभयो ।

पैदलमार्ग हुँदै आएका यात्रुको स्वास्थ्य परीक्षण पनि गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो ।

आइतबारसम्म वाणगंगा नगरपालिकाले पनि झण्डै साढे दुई सय पैदलयात्रीलाई पश्चिम पठाएको छ । काठमाडौँलगायतबाट पैदलयात्रा हुँदै वाणगंगा आएका उनीहरुलाई सवारी साधनको प्रयोग गरेर जिल्ला नाकासम्म पु¥याउने काम गरिएको नगरपालिकाका प्रवक्ता विष्णु गिरीले बताउनुभयो ।

प्युठान– पैदलयात्रीलाई गुल्मी, बाग्लुङ, प्युठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबीचको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पु¥याउने काम स्थानीय तहले गरेका छन् । प्युठान नगरपालिका तथा गौमुखी, झिमरुक, माण्डवी र सरुमारानी गाउँपालिकाको समन्वयमा मात्रै सयौँ पैदलयात्रीलाई उद्धार तथा खानपिनको व्यवस्थापन गरेर गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिएको प्युठान नगरपालिकाका पमुख अर्जुनकुमार कक्षपति बताउनुहुन्छ ।

लामो पैदलयात्राबाट निकै दुःख पाएको अवस्थामा उद्धार हँुदा राहत मिलेको बर्दियास्थित बारबर्दिया नगरपालिका ९ बनगाईकी सीता सार्कीले बताउनुभयो । बाटामा पानी मागेर खान खोज्दा नदिने तथा धारोमा पानी आइरहेको देखेर खान खोज्दा छुन समेत नदिने पीडा ब्यहोर्नुपरेको उहाँले सुनाउनुभयो ।

प्युठान हँुदै बाहिरिने पैदल यात्रीलाई स्थानीय तहले उद्धार गरी यातायात, खानपिन र आवश्यकतानुसार आवासको समेत व्यवस्था मिलाएको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बताउनुभयो ।

बाँके–शुक्रबार मात्रै धादिङको धार्केबाट हिँडेरै नेपालगञ्ज आइपुगेका ५२ भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । चौध दिनपछि कोरोना संक्रमणको परीक्षण गरेर भारतीय अधिकारीहरुसँगको समन्वयमा पठाउन सकिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाले दाङको सीमाबाट करीब ७५ किलोमिटर पश्चिम कोहलपुरसम्म पु¥याउने काम गरिरहेको छ । त्यहाँबाट कोहलपुर नगरपालिकाले बाँके–बर्दियाको मानखोलासम्म पु¥याउने गरेको छ । ‘सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरेर पैदल यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने काम गरिरहेका छौंँ’ कोहलपुर नगरपालिकाका प्रमुखख लुटबहादुर रावतले भन्नुभयो ।

पैदल यात्रुलाई तीन दिनदेखि ट्रयाक्टर र ट्रकमार्फत गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो । गाउँपालिकाले तीन दिनयता एक हजार ५०० भन्दा बढीको उद्धार गरिसकेको छ ।

पैदल यात्रीलाई शुरुदेखि नै व्यवस्थापन गर्दै आएका स्थानीय तहलाई सरकारले प्रदेश सरकारसँगको समन्वयमा तिनको व्यवस्थापन गर्न निर्देशन दिएपछि प्रदेश र स्थानीय सरकारको समन्वयमा यात्रुको व्यवस्थापन गरिएको हो ।

प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले पैदल यात्रुको उद्धारका लागि सरकारले स्थानीय तहमा बजेट नै दिएको बताउनुभयो । उहाँले पैदलयात्रुको खानपिन, स्वास्थ्य जाँच, सवारी व्यवस्थापन र क्वारेन्टाइनमा राख्नेसम्मको व्यवस्थापन स्थानीय तहले सबैसंँगको समन्वयमा गरेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button