तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको टावरमा चट्याङ पर्दा मोबाईल सेवा अवरुद्ध

फाइल तस्बिर

सोलुखुम्बु । चट्याङका कारण नेपाल टेलिकम सोलुखुम्बुको विभिन्न स्थानको टावरमा क्षति पुगेपछि मोबाईल सेवा अवरुद्ध बनेको छ ।

बर्षातसहित परेको चट्याङले फाप्लु र क्याम्जे डाँडाको आठ वटा टावरमा क्षति पुग्दा सो क्षेत्रको टेलिफोन सेवा अवरुद्ध बनेको हो ।

चट्याङले रेडियो लिकंमा क्षति पुग्दा तामाखानी, लोदिङ, जुनवेशी, वेनी, टाक्सिन्दु, जुभिङ, खरिखोला लगायतका स्थानहरुमा मोबाईल सेवा अवरुद्ध बनेको नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो । अवरुद्ध सेवा चाँडो सुचारु गर्न प्राविधिक टोलि खटाइसकेको प्रमुख कठायतको भनाई छ ।

टावरमा चट्याङ पर्दा करिब दुई लाख रुपियाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख कठायतका अनुसार फाप्लुको टावर छिटै मर्मत गरिने छ भने अन्य स्थानको सेवा सुचारु गर्न कम्तिमा चार दिन लाग्ने छ । बिग्रिएका सामाग्रीहरु विराटनगरबाट ल्याउनु पर्ने भएकाले समय लाग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button