तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभावकारी बनाउन साझा प्रतिबद्धता

महोत्तरी।  क्वारेन्टाइन केन्द्रमा बसेकाहरुको प्रथम चरणको आरडिटी (र्यापिड डायग्नोस्टिक टेस्ट) सञ्चालन भइरहेबीच महोत्तरीमा लकडाउन अझ प्रभावकारी बनाउन साझा प्रतिबद्धता जनाइएको छ ।

शारीरिक दूरी (एक–अर्कोबीच एक मिटर दूरी फरक पारेर सुरक्षित बसाइ) कायम राख्दै शनिबार जिल्लाको बर्दिवास र सम्सीमा सम्पन्न सर्वपक्षीय समीक्षा बैठकमा लकडाउन प्रभावकारी बनाउन साझा प्रतिबद्धता जनाइएको हो ।

जिल्ला समन्वय समिति महोत्तरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्लाका प्रशासनिक, सुरक्षा निकाय, राजनीतिक दल, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखले कोभिड–१९ रोकथामका लागि लकडाउनको प्रभावकारिता अपरिहार्य भएको बताउनुभयो । जिल्लामा बस्तीबस्तीमा बाहिरबाट आएका मानिसको खोजी अझै जारी राख्दै उनीहरुलाई क्वारेन्टाइनमा पु¥याउन साझा संयन्त्र बनाइने सहमति भएको नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपालीले बताउनुभयो ।

“हामीले जिल्लाका दुई प्रतिनिधिसभा क्षेत्रमा शनिबार पछिल्लो अवस्थाबारे समीक्षा ग¥यौँ”, महोत्तरी–१ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य भरतप्रसाद साहले भन्नुभयो, “छलफलको निष्कर्ष भनेकै लकडाउनको पूर्ण परिपालना हो ।” कार्यक्रममा भारतीय सीमाक्षेत्रमा हुने आउजाउ पूर्ण निस्तेज गर्न र बस्तीबस्तीमा को–कहाँबाट कसरी आए÷गएका छन्, यसको हेक्का राखिनुपर्नेमा जोड दिइएको समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्रप्रसाद यादवले बताउनुभयो । यसका लागि दलहरुले साझा संयन्त्र बनाएर अनुगमन गर्ने सहमति भएको सहभागीको भनाइ छ ।

महोत्तरीमा १५ स्थानीय तहमध्ये १२ मा र सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका समेत १८ क्वारेन्टाइन केन्द्रमा ३४० श्यया र जलेश्वर अस्पताल र सेनाको परिकौलीस्थित रणभीम गणमा गरी २६ आइसोलेसन श्यया रहेका छन् । चैत २० गतेयता क्वारेन्टाइनमा बसेका ८० जनाको आरडिटी टेस्ट भएर सबैको नतिजा नेगेटिभ आएको छ ।

समीक्षा गरिँदा जिल्लामा अहिलेसम्म कोभिड–१९ फेला नपरेको र लुकीछिपी रहेकाहरुको खोजी जारी राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । सर्वपक्षीय बैठकले लकडाउनकै बेला पारेर वन सम्पदा चोरी र नदीहरुमा उत्खनन बढेको तर्फ तत्काल नियन्त्रणका लागि पहलकदमी बढाइने सहमति गरेको छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा समीक्षा गरेर अगाडिको प्रभावकारिताका लागि ठोस योजना बनाइने बताइएको छ । “शनिबार एक र चार नम्बर क्षेत्रको समीक्षा बर्दिवास र सम्सीमा सम्पन्न गरियो”, जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले भन्नुभयो, “अब आज बाँकी दुई क्षेत्र (दुई र तीन)को समीक्षा गरेर तत्काल गर्नपर्ने कामको योजनासाथ अघि बढिने छ ।” बैठकमा विपन्न र दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरुका लागि सरकारले प्रदान गरेको राहत वितरणबारे समीक्षा गरिएको सिंहले बताउनुभयो ।

यस्तो समीक्षा बैठकमा सम्बन्धित क्षेत्रभित्रका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख (नगरपालिका), अध्यक्ष–उपाध्यक्ष (गाउँपालिका), राजनीतिक दलका क्षेत्रीय समितिका प्रमुख र प्रहरी/प्रशासनिक एकाइका प्रमुख सहभागी गराइएका छन् । सबै क्षेत्रमा दलका जिल्ला प्रमुख र प्रशासनिक तथा अन्य सबै सुरक्षा निकायका प्रमुखको उपस्थिति हुने गरेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button