तपाईँ सुन्दै हुनुहुन्छः

मस्जिदका १४ जनाको आरडिटी परीक्षण ‘नेगेटिभ’

दमक-उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिका सङ्ख्यामा सङ्क्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो ।

यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले वताउनुभयो ।

उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिर्पाेट नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन । उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ । कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् ।

देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए । यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार हाल दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा दुई र मानसरोवर इन्स्टिच्युटमा १५ पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button