तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा र्यापिड टेष्ट : ६५ जनाको नेगेटिभ एक जनाको पोजेटिभ रिपोर्ट

सर्लाही । सर्लाहीमा हालसम्म र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) ६६ जनामा गरिएको छ ।  जिल्लाको बिभिन्न क्वारेन्टाइनमा बसेका ६६ जना शंकास्पद व्यक्तिहरुको आरडीटी टेष्ट गर्दा ६५ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ हरकठबाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षिय बालकलाई शुक्रबार साँझ आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो ।

आरडीटी टेष्टमा कोरोना पोजेटिभ देखिए पनि अहिले नै संक्रमित हो भन्न मिल्दैन् पिसिआर टेष्ट पश्चात मात्र कोरोना संक्रमण हो होइन भन्न सकिने प्रजिअ जिसीले बताउनुभयो ।

उक्त बालकको थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताउनुभयो । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएपनि उनलाई पनि जनकपुर पठाइएको जिसीले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएका ती बालक गएको चैत २३ गतेका दिन भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालक आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

हालसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५० जना, हरिपुर नगरपालिकामा दुई जना, लालबन्दी नगरपालिकामा ३ , कौडेना गाउँपालिकामा पाँच जना र शुक्रबार साँझ रामनगर गाउँपालिकामा ४ जना र धनकौल गाउँपालिकामा दुई जना गरी ६६ जनाको आरडीटी टेष्ट गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका बरिष्ठ ल्याव असिस्टेन्ट बिजय चौरसीयाका अनुसार आरडीटी टेष्ट परिक्षणमा शंका लागेको विरामीलाई पिसिआर टेष्ट गर्दा मात्र कोरोना संक्रमित बिरामी पता लगाउन सकिने सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button