तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश कोभिड–१९ संकट ब्यवस्थापन समितिः कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेश कोभिड–१९ संकट ब्यवस्थापन समितिले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष एवम् बागमती प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भौतिक दुरी कायम गरी कृषि उत्पादनका लागि चाहिने मल, बिउ बिजन उपलब्ध गराउने जनाएको छ ।

यसैगरी बिदेशबाट आएका एवम् प्रभावित व्यक्तिहरुको खोजी गरी र्यापिड डायोग्नोष्टिक टेष्ट र आवश्यक परे पिसिआर टेष्ट पनि गर्ने निर्णय भएको छ ।

अझैपनि केही स्थानमा राहत बितरणमा एकद्वार नीति अबलम्वन गरेको नपाइएकोले संघीय सरकारको निर्देशन अनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत बितरण गर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेशमा अलपत्र परेका व्यक्तिहरुको उचित ब्यवस्थापनका लागि आवश्यकता अनुसार काम गर्ने, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत ब्यवस्थापन गरी सञ्चालन गर्ने, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कार्बाही गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

साथै स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव रहेकोले संघीय सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ ।

यस्तै लकडाउनको समयमा बिभिन्न अवान्छित क्रियाकलाप गर्नेलाई कार्वाही गर्ने र त्यस्ता कृयाकलापलाई निरुत्साहित गर्न स्थानीय तहलाई निर्देशन गर्ने निर्णय भएको मन्त्रि ढुंगेलले बताउनुभयो ।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा समेत असर परेकोले यसको समन्वय स्थानीय तहले गर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाद रुपमा खेतीपाती गर्न किसानहरुलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो ।  उहाँले पालिकाहरुललाई सावधानी अपनाएर र दुरी व्यवस्थापन गरेर गर्न सकिने कामहरु गराउन लगाउने तर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले भन्नभयो–‘कतिपय व्यक्तिहरु वर्षभरी शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी शहर पस्नेहरु रहेको र उनीहरु अहिले अलपत्र भएकोले व्यवस्थापन हुनु आवश्यक रहेको छ ।’

यसैगरी लकडाउन प्रभावकारी बनाउन सुरक्षा संयन्त्र एवम् स्थानीय तहलाई सक्रिय हुनु पर्ने पनि उहाँको भनाई थियो । अहिलेको सयमयमा सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र स्थानिय तहले लकडाउनको समयमा ठुलो योगदान गरिरहेको बताउनुभयो ।

बैठकमा प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, प्रमुख सचिब, मन्त्रालयका सचिबहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button