तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यान्न अभावः वडाको सिफारिसमा मात्र चामल

जाजरकोट-खाद्यान्न ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्य अभाव भएको छ । खाद्य ढुवानीको जिम्मा लिएका एनबी विल्डर्स सप्लार्सका मानबहादुर खड्काले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माघ २१ गते दुई हजार ४०० क्विन्टल चामल बोक्ने भनी लिखित कागज गरे पनि सहमतिअनुसार काम नगर्दा खाद्यान्न अभाव भएको हो ।

लकडाउनका कारण निजी क्षेत्रबाट चामल ढुवानी कार्य रोकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको घाट डिपोमा चामल लिनका लागि दैनिक भीड हुने गरेको हो । स्थानीयवासीले चामल नपाउँदा रित्तो हात फर्कनुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सप्लायर्सले चैत मसान्तसम्म दुई हजार ४०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको रोहवरमा गरे पनि सो सहमति लत्याएपछि समस्या भएको हो ।

अहिलेसम्म सप्लायर्सले एक हजार ७१ क्विन्टल चामल मात्र ढुवानी गरेको लिमिटेडका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । बारेकोट गाउँपालिका–५ घाटस्थित लिमिटेडको डिपोमा दुई हजार ५०० क्विन्टल चामल स्वीकृत कोटा भए पनि ठेकेदारले ढुवानी नगर्दा समस्या भएको हो । व्यापार कम्पनी लिमिटेडले जिल्ला कार्यालयले आफैँ ३५० क्विन्टल चामल ढुवानी गरेको प्रमुख बस्नेतले बताउनुभयो ।

यता बारेकोट गाउँपालिकाले व्यापार कम्पनी लिमिटेडबाट चामल लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य बनाएको छ । चामल लिन आउने स्थानीयवासीले भीडभाड गरेका कारण वडाको सिफारिसका आधारमा मात्र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । अहिले भएको कोटामा थप एक हजार क्विन्टल चामल थप गरी ढुवानीको कामसमेत गर्न लागिएको उहाँको भनाइ छ । वडा नं १ मा आइतबार, वडा २ र ३ मा सोमबार, वडा नं ४ मा मङ्गलबार, ४ र ६ मा बुधबार र वडा ७ र ८ मा बिहीबार र वडा ९ मा शुक्रबार खाद्यान्न उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । चामल लिनका लागि सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस लिइ कम्पनीको डिपोमा जानुपर्ने छ ।

टाठाबाठाले मात्र बढी चामल लिने र गरिबको हातमा चामल नपर्ने भएकाले यो कार्य गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा समेत चामल पठाउन लागिएको छ । दुई दिनभित्र चामल ढुवानीको कार्य सुरु हुने कम्पनीले जनाएको छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाको ताँगा बिक्री केन्द्रमा ३४० क्विन्टल चामल पठाउन लागिएको प्रमुख बस्नेतले बताउनुभयो । आफ्नै उत्पादनले छ महिनासम्म खाना नपुग्ने यहाँका स्थानीयवासी अहिले समस्यमा परेका छन् ।

दैनिक ज्यालादारी गरी सोही रकमबाट खाद्यान्नको जोहो गरी छाक टार्ने सबैभन्दा बढी मारमा परेका छन् । निजी क्षेत्रबाट खाद्यान्न ढुवानीको काम ठप्प हुँदा गाउँगाउँमा खाद्यान्न सङ्कट परेको हो । नयाँ बाली गहुँ पाकेको छैन, पुरानो बाली सकिएपछि सर्वसाधारण समस्यामा परेका छन् । कम्पनीका डिपोहरु जनताको पहुँचमा नहुँदा सर्वसाधारण आफूले चाहेको ठाउँबाट खरिद गर्न नपाएको बताएका छन् । ढुवानीका लागि यातायात सेवा बन्द हुनु अर्को समस्या हो । जाजरकोटमा २६७ जाँच, सबैको रिपोर्ट नेगेटिभ जाजरकोटका विभिन्न स्थानीय तहमा गरिएको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणबाट २६७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिका, नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट २६७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार नलगाड नगरपालिकामा ४३, बारेकोट गाउँपालिकामा ५५, भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा २४ र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो । भारत, खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरूकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

अन्य परीक्षणका लागि प्रदेशबाट किट मागेको र आउनेबित्तिकै जाजरकोटमा करिब ५०० स्थानीयवासीको नमूना जाँच हुने उहाँलेले बताउनुभयो । कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले ¥यापिड टेस्ट किटमार्फत कोरोनाको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन शुरु गरेको छ । ¥यापिड टेस्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिनेछ ।

परीक्षणका लागि प्रदेश सरकारले ३०० ¥यापिड टेस्ट किट पठाएको छ । प्रतिपालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली शङ्कास्पद खोज्दै गाउँ पुगेका छन् । त्यस्तै छिमेकी जिल्ला डोल्पामा कोरोना भाइरस द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ ।

कोरोनाको परीक्षण स्थानीय तहबाट शुरु गरिने भएको हो । कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको परीक्षण गर्न निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button