नागरिकको सुरक्षाका लागि एकताबद्ध हुन आह्वान
काठमाडौं । सङ्घीय संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि एकताबद्ध हुन सबैमा आह्वान गरेको छ ।
समितिका सभापति पवित्रा निरौला (खरेल)ले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ को विश्वव्यापी चुनौतीको सामान गर्न र सम्पूर्ण नागरिकको सुरक्षा गर्न आआफ्नो स्थानबाट यथाशक्य भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
उहाँले विदेशमा रहेका नेपालीलाई कुनै पनि समस्या परेमा सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगँग सम्पर्क गर्न, कोरोनाको सङ्क्रमणबाट आफू बच्न र अरुलाई बचाउन, सङ्क्रमण फैलन नदिन जो जहाँ भए पनि त्यहीँ सुरक्षित रहन तथा सरकारले जारी गरेको नीति निर्देशनको अनुशरण गर्दै स्वास्थ्यविज्ञको सल्लाह आत्मसात् गर्न पनि आह्वान गर्नुभएको छ ।
सभापति निरौलाले दक्षिणी सीमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली तथा पर्यटन व्यवसायीलाई परेको समस्या समाधान गर्न एवं दक्षिणतर्फको सीमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न नसक्ने उल्लेख गर्दै उहाँले समितिका सदस्यबीच छलफल र परामर्शका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको पनि बताउनुभएको छ ।
रासस
प्रतिक्रिया राख्नुहोस्